उच्च ब्याजदर र उत्पादन घट्दा संकट उन्मुख जलविद्युत कम्पनीहरु: २२ वटाले व्यहोरे नोक्सानी, कुनको अवस्था कस्तो ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

उच्च ब्याजदर र उत्पादन घट्दा संकट उन्मुख जलविद्युत कम्पनीहरु: २२ वटाले व्यहोरे नोक्सानी, कुनको अवस्था कस्तो ?



काठमाडौं । अधिकांश जलविद्युत कम्पनीहरु घाटामा देखिएका छन् । विद्युत उत्पादन घट्ने, ब्याजदर बढ्ने लगायतका कारण जलविद्युत कम्पनीहरु घाटामा जान थालेका हुन् ।

संचालनमा रहेका जलविद्युत कम्पनीहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको रिपोर्टले पनि यस्तो देखाएको छ । समिक्षा अवधिमा आईपुग्दा करिव दुई दर्जन कम्पनीले नोक्सानी व्यहोरेका छन् । त्यस बाहेक पनि थुप्रै हाइड्रोपावर कम्पनीको नाफा गिरावट आएको छ ।

नोक्सानीमा २२ वटा कम्पनी, सबैभन्दा धेरै अपर तामाकोशी

संचालनमा रहेका मध्ये दुई दर्जन कम्पनी नोक्सानीमा देखिएका छन् । चालु आवको चैत मसान्तसम्ममा आईपुग्दा २२ वटा जलविद्युत कम्पनीले नोक्सानी व्यहोरेका हुन् ।

समिक्षा अवधीमा सरकारी स्वामित्वको अपर तामाकोशी जलविद्युत कम्पनी सबै भन्दा धेरै घाटामा छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालन गरिरहेको उक्त कम्पनी २ अर्ब ३ करोड ३४ लाख रुपैयाँले घाटामा गएको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधीमा कम्पनीको घाटा १ अर्ब ६५ करोड ६ लाख रुपैयाँ थियो ।

यस्तै, बढी घाटा बहोर्नेमा शिवश्री हाइड्रोपावर दोस्रो नम्बरमा छ । उक्त कम्पनी २३ करोड ७९ लाख ३३ हजार रुपैयाँले घाटामा छ । गत आवमा उक्त कम्पनी २८ करोड ९० लाख ४९ हजार रुपैयाँले घाटामा थियो । त्योअनुसार कम्पनीको घाटा रकम केही घटेको देखिन्छ । तेस्रो स्थानमा रहेको बलेफी हाइड्रोपावर रहेको छ । कम्पनले २३ करोड ७२ लाख २० हजार रुपैयाँले नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधीमा उक्त कम्पनी ६ लाख ६ हजार रुपैयाँले मात्रै घाटामा थियो । तर, यसपाली उक्त कम्पनीको घाटा ह्वात्तै बढेको देखिन्छ ।

स्रोत: कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिपोर्ट, (रकम हजारमा)

बैंकको ब्याजदर बढ्दा हाइड्रोपावर कम्पनीहरु घाटामा

विशेषगरि बैंकको ब्याजदर बढ्दा हाइड्रोपावर कम्पनीहरु घाटामा गएका हुन् । अधिकांश कम्पनीहरुले अस्थिर ब्याजदर प्रणाली मार्फत कर्जा ल्याएका हुन्छन् । पछिल्लो समय तरलता अभाव भएसँगै बैंकहरुले निक्षेपको ब्याजदर बढाएका थिए ।फलस्वरुप कर्जाको ब्याजदर पनि बढेको हो । पहिला ८ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज तिर्दै आएका जलविद्युत कम्पनीले अहिले १४/१५ प्रतिशतसम्म ब्याज तिर्नु परेको छ । त्यसले गर्दा कम्पनीहरुको नाफा घट्ने, घाटामा नै जाने समस्या आएको ऊर्जा व्यवसायीहरु बताउछन् ।

साथै, चालु आवको हिउँदमा आयोजनाहरुको विद्युत उत्पादन पनि घटेको छ । नेपालमा नदी प्रवाहमा आधारीत (आरओआर) आयोजना छन् । त्यो अवस्थामा नदीमा हुने पानीअनुसार विद्युत उत्पादन हुन्छ । बर्खामा खोलामा पानी बढी हुदाँ पुर्ण क्षमतामै विद्युत उत्पादन हुन्छ भने हिउँदमा खोलामा पानी कम हुदाँ विद्युत उत्पादन पनि कम हुन्छ । तर, यसपाली हिउँदमा पानी नपर्ने, हिउँ नपर्ने लगायतका कारण खोलामा पानीको बहाव झन् घट्यो । त्यसले गर्दा आयोजनाहरुको विद्युत उत्पादन पनि ठुलो मात्रामा घटेको छ । यसरी विद्युत उत्पादन घटेर आम्दानी घट्दा पनि नाफा प्रभावित भएको स्वतन्त्र ऊर्जा व्यवसायीहरुको संस्था नेपाल (इप्पान)का उच्च अधिकारीले बताए । समग्रमा उच्च ब्याजदर, विद्युत उत्पादन घट्ने लगायतका समस्याका कारण जलविद्युत कम्पनीहरु संकटमा जाने संकेत देखिएको व्यवसायीहरु बताउछन् ।

नाफामा तीन दर्जन कम्पनी, तर गत वर्षभन्दा अधिकांशको घट्यो

चालु आवको तेस्रो त्रेमासमा तीन दर्जन जलविद्युत कम्पनीहरु नाफामा देखिएको छन् । समिक्षा अवधीमा ३८ कम्पनी भने नाफामा नै छन् । यद्यपित, नाफा कमाएता पनि अधिकांशको २३ वटाको भने घटेको छ । गत वर्षको समिक्षा अवधिको तुलनामा ती कम्पनीहरुको नाफामा संकुचन आएको हो । तर, १३ वटा कम्पनीले भने नाफा बढाउन सफल भएका छन् ।

समिक्षा अवधीमा नाफा कमाउने मामलामा चिलिमे जलविद्युत कम्पनी अग्रस्थानमा छ । चैत मसान्तसम्म चिलिमेले ५२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत आवको समिक्षा अवधिको तुलनामा भने सामान्य वृद्धि भएको हो । गत वर्ष पनि कम्पनीले सोही हाराहारीमा नाफा गरेको थियो ।

धेरै नाफा कमाउनेको दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले ३५ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो गत आवको समिक्षा अवधिको तुलनामा भने २० प्रतिशतले कमी हो ।

तेस्रो स्थानमा रहेको बुटुवल पावर कम्पनीले २६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा भने ग्रीन भेञ्चर्स, हिमालयन हाइड्रोपावर, शुभम पावर र युनिभर्सल अगाडि छन् ।

स्रोत: कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिपोर्ट, (रकम हजारमा)


प्रतिक्रिया दिनुहोस्