१९ श्रावण २०८३, मंगलबार

आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थतन्त्रमा लागेको डढेलोलाई अर्थमन्त्रीले छोप्ने कोशिस गरे : पौडेल



काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले ल्याएको बजेटले मुलुकको विद्यमान आर्थिक अवस्थालाई वेवस्ता गरेको बताए ।

आइतबार चलिरहेको प्रतिनिधि सभाको बैठकको पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थतन्त्रका समस्या, चुनौती र संभावनालाई ठिक ढंगले पहिचान गर्न नसकेको उनको भनाई छ । ‘यो बाटेजले अर्थतन्त्रका समस्या, चुनौती र संभावनालाई ठिक ढंगले पहिचान गर्न नसकेको छैन र समाधानका उपाय अघिसार्न सकेको छैन’–पौडेलले भने ।

नेपाली अर्थतन्त्र मन्दीको मारमा परेको सूचकहरुले देखाइरहे भन्दै बजेटले यथार्थलाई स्वीकार गर्न नसकेको पौडेलले बताए । उनले भने,– ‘नेपाली अर्थतन्त्र मन्दीको मारमा परेको आर्थिक सूचकहरुले देखाईरहेका छन् । तर, बजेटले त्यो यथार्थलाई स्वीकार गर्न र अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि रिभाईबल प्लान अघि सार्न सकेको छैन।’

बजेटले अर्थतन्त्रमा देखा परेको जटिलतम परिस्थिति, समस्या र तिनीहरुका बीचमा चिन्ताजनक अवस्थामा रहेको बहुआयामिक अन्तरसम्बन्धलाई पहिचान गर्न नसकेको उनको भनाई छ । उनले भने,–‘आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ । त्यतिमात्र होइन प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रका समस्यालाई सामान्यीकरण गरेको छ । सरकारले लिएको पहलकदमीले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भनेर भ्रम छर्ने कोसिस गरेको छ ।’

अर्थतन्त्रका उपलब्ध स्रोत र साधानहरुलाई पूर्ण क्षमतामा परिचालन गर्न सरकार असक्षम रहेको उनको भनाई छ । ‘आगामी आर्थिक बर्षको कूल ग्रार्हस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षको भन्दा कम प्रक्षेपण गरिनु र कूल विनियोजन गत वर्षको भन्दा कम हुनुले अर्थतन्त्रका उपलब्ध स्रोत साधनहरुलाई पूर्ण क्षमतामा परिचालन गर्न सरकार असक्षम छ भन्ने पुष्टि भएको छ।’–पौडेलले भने ।