ऋण उठाएर खर्च गर्दै सरकार: ११ महिनामै ल्यायो ३ खर्ब, प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋणको भारी
काठमाडौं । सरकारले आफ्नो खर्च धान्न ३ अर्ब बढी ऋण उठाएको छ । सरकारले चालु आर्थिक बर्ष २०७९/८० को ११ महिनामा मात्रै ३ खर्ब रुपैयाँ भन्दा बढी ऋण उठाएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार सरकारले ११ महिनामा ३ खर्ब ६ करोड ३४ लाख रुपैयाँ ऋण उठाएको छ । त्यसमा आन्तरीक मात्रै २ खर्ब २० अर्ब ३८ करोड रपैयाँ रहेको छ । वैदेशिक ऋण भने ७९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यसपाली राजश्व लगायतका माध्यमबाट हुने सरकारको आम्दानी घटेको छ । सरकारको आम्दानी भन्दा खर्च नै झण्डै ३ खर्ब बढी रहेको छ । यसरी आम्दानीले खर्च धान्न नसकेपछि सरकार ऋण ल्याउन बाध्य भएको हो ।
यस्तै, जेठ मसान्तसम्म सरकारको कुल ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म सरकारको तिर्न बाँकी ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यसमा सरकारले यो बर्ष ३ खर्ब ऋण ल्याएको छ । तर, यो बर्ष सरकराले १ खर्ब ४० अर्ब ११ करोड २६ लाख रुपैयाँ ऋणको सावाँ भुक्तानी गरेको छ । त्योअनुसार जेठ मसान्तसम्म सरकारको तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । त्यसमा आन्तरीक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
कुन महिना कति ऋण ?
सरकारले साउनमा २ अर्ब ४८ करोड रुपैयाँ ऋण ल्याएको छ । यसैगरि भाद्रमा ३ अर्ब ९२ करोड, असोजमा १८ अर्ब ४९ करोड, कात्तिकमा २ अर्ब ७२ करोड रुपैयाँ ल्याएको छ।
यस्तै, मंसिरमा २४ अर्ब ३१ करोड, पुसमा २४ अर्ब ४१ करोड रुपैयाँ ऋण ल्याएको छ । साथै, माघमा ४१ अर्ब १० करोड, फागुनमा ३२ अर्ब ५० करोड, चैतमा ३३ अर्ब ४१ करोड, बैशाखमा ७२ अर्ब ८४ करोड र जेठमा ४३ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ ।
एक जना नेपालीको भागमा कति छ सरकारी ऋण ?
योसँगै एक जना नेपालीको भागमा ७४ हजार ५१६ रुपैयाँ सरकारी ऋणको दायित्व देखिएको छ । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छन् । त्योअनुसार एक जनाको भागमा ७४ हजार ५१६ रुपैयाँ सरकारी ऋण देखिएको हो ।
गत आवसम्म एक जना नेपालीको भागमा ६८ हजार ९६६ रुपैयाँ सरकारी ऋण थियो । त्योअनुसार चालु आवमा एक जना नेपालीको भागमा ५ हजार ५५० रुपैयाँ ऋण थपिएको देखिन्छ ।













