बीमा कम्पनीका ४६८ कार्यालयको अस्तित्व सकियो, बीमा क्षेत्रबाट बाहिरिए ६५२ कर्मचारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बीमा कम्पनीका ४६८ कार्यालयको अस्तित्व सकियो, बीमा क्षेत्रबाट बाहिरिए ६५२ कर्मचारी



काठमाडौं । पछिल्लो समय नेपाली बीमा क्षेत्रका कर्मचारीहरु संख्या र कार्यालय घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमै बीमा कम्पनीहरुको कार्यालयको संख्या १३.९५ प्रतिशतले घटेको छ ।

गत आवको जेठ मसान्तसम्मा बीमा कम्पनीहरुको कार्यालयको संख्या ३ हजार ३५५ वटा रहेको थियो । तर, एक वर्षको अवधिमा भने ४६८ वटा कार्यालयको अस्तिव सकिएको छ । विशेषगरि पछिल्लो समय बीमा कम्पनीहरुको मर्जरका कारणले नै कार्यालयको संख्या घटेको हो । चालु आवको जेठ मसान्तसम्ममा आईपुग्दा बीमा कम्पनीहरुको कार्यालयको संख्या २ हजार ८८७ वटामा झरेको छ ।

यस्तै, बीमा कम्पनीहरुको कार्यालयको संख्यासंगै यस क्षेत्रका कर्मचारीहरुको संख्या पनि घट्दै गएको छ । एक वर्षको अवधिमा बीमा क्षेत्रबाट ६५२ जना कर्मचारी बाहिरिएका छन् । योसंगै चालु आवको जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुको कर्मचारीकोसंख्या ११ हजार १९९ कायम भएको छ । जुन गत आवको जेठ मसान्तसम्मको तुलनामा भने ५.५० प्रतिशतले कमी हो । गत आवको जेठ मसान्तसम्ममा भने बीमा कम्पनीहरुमा ११ हजार ८५१ कर्मचारीहरु रहेका थिए । बीमा क्षेत्रमा रोजगारीको संख्या घट्नुको मुख्य कारण कम्पनीहरुको मर्जर पनि हो ।

मर्जरका कारण बीमा क्षेत्रमा रोजगारीको संख्या घटेको छ । बीमा प्राधिकरणको पुँजी बढाउने नीतिका कारण पछिल्लो समय थुप्रै बीमा कम्पनीहरु मर्जरमा गएका छन् । त्यसले गर्दा मर्ज भएका कम्पनीहरुमा कर्मचारीको संख्या बढी हुन गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै अधिकांश कम्पनीहरुले विभिन्न सुविधामा स्वैच्छिक अवकाश नीति ल्याएर कर्मचारी बिदाई गरेका छन् । त्यसले गर्दा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या घटेको बताइन्छ । कम्पनीहरुको संख्या घटेपछि कर्मचारीहरुको संख्या पनि घट्नु स्वभाविक रहेको विज्ञहरु बताउँछन् ।

नेपालमा हाल निर्जीवन कम्पनीको संख्या १४, जीवन संख्या १५ र पुनर्बीमाको संख्या २ वटा रहेको छ । गत आवसम्म नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा कम्पनी थिए । गत बर्षहरुमा बीमा क्षेत्रले रोजगारीको संख्या बढ्दै गएको थियो । तर, पछिल्लो समय यस्तो संख्या घट्दै गएको हो ।

पछिल्लो समय देखिएको आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ । आर्थिक संकटका कारण मानिसको बीमा गर्ने क्षमता घटेको छ । त्यसले असर बीमा कम्पनीहरुको व्यवसायमा परेको छ । यसरी व्यवसाय प्रभावित हुदाँ पनि बीमा कम्पनीहरुले उलेख्य रुपमा रोजगारी वृद्धि गर्न सकिरहेको अवस्था छैन । यस्ता कारण बीमा क्षेत्रमा रोजगारी घटेको जानकारहरु बताउछ्न ।


प्रतिक्रिया दिनुहोस्