१९ श्रावण २०८३, मंगलबार

यस वर्षको एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, भाग्यशाली विद्यार्थीले यसरी हेर्न सक्छन् नतिजा



काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उत्तरपुस्तिका परीक्षण गर्ने, विद्यार्थीहरुको प्राप्तांक कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य लगभग सकिएको छ । कुनै प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक श्रेष्ठले बताएका छन् । जटिल प्राविधिक समस्या आएमा भोलि शुक्रबारमात्रै नतिजा सार्वजनिक हुने उनले स्पष्ट पारे ।

बोर्डले अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ । २०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

२०७२ सालको पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलार्ई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ । यसर्थ यस वर्षका परीक्षार्थीहरु भाग्यशाली हुन् ।

गत चैत १७ देखि २९ गतेसम्म देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भएको थियो । उक्त परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल ४ लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागि थिए । परीक्षा बोर्डका अनुसार २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्रहरु परीक्षामा सहभागि थिए । प्राविधिक क्षेत्रतर्फ भने १५ हजार ४६१ जना परीक्षार्थी एसईईमा सहभागी भएको बोर्डले जनाएको छ ।

नतिजा कसरी हेर्ने ?

यस वर्षको एसईई नतिजा हेर्न वेबसाइड, एसएमएस वा आइभिआरजस्ता प्रविधीको सहायता लिन सकिन्छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरिएको छ ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।