२४ श्रावण २०८३, आइतबार

सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छः एमाले सांसद दसौदी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको बताए ।

उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उनको जिकिर थियो । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरेपनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको बताए ।

उनले भने, ‘हाम्रो संसद अवरुद्ध पार्ने कुनै मनसाय छैन । तर सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ । देश र जनताको हीतका लागि त्यो छानविन समिति आवश्यक छ । हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भिर आशंका छ । त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो । तर, सरकार डराइरहेको छ ।’