अपर तामाकोशी हाइड्रोपावरले भदौ १८ गतेदेखि शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज भएको हुदाँ साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले असोज ७ गतेसम्म हकप्रद निष्काशनमा आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।













