कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताएका हुन् । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताए ।

उनले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताए। त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताए । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताए ।

उनले भने – ‘नदीनाला र हिमश्रृङ्खलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आर्शिवाद प्राप्त हाम्रो देश जलविद्युत उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशको रुपमा परिचित छ । देशभित्र पनि विश्वभरी पनि । जलवायु जोखिमसँग सम्बन्धित पक्षहरुलाई समेत मनन गर्दै बिना बिलम्व यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । हामीले आन्तरिक विद्युत खपतलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडी बढीरहेका छौँ । नेपालको जलविद्युत विकासमा उल्लेख्यनीय सहभागितामार्फत विद्युत उत्पादनको बढ्दो हिस्साका लागि योगदान पु¥याइरहेका निजी क्षेत्रको उत्पादित विद्युत समेत खरिद गरिरहेको नेपाल विद्युत प्राधिकरणले आफैँ वा आफ्ना सहायक कम्पनीहरुमार्फत आगामी दिनमा विद्युत उत्पादनका क्षेत्रमा सशक्त र अग्रणी भुमिकामा आफूलाई प्रश्तुत गर्दै जाने अपेक्षा र विश्वास मैले लिएको छु । योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेघावाट क्षमताको बहुआयामिक कर्णाली– चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढीरहेको अवस्था तपाईहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महशुस भएको छ । मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा नै कुनै मेघा प्रोजेक्ट अगाडी बढाउने सपना देखेको थिएँ । त्यसमध्येको कर्णाली चिसापानी १० हजार भन्दा बढी मेघावाटको सपना थियो ।”

प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारे । उनले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।


प्रतिक्रिया दिनुहोस्