बढ्दै छ वालेट मार्फत हुने कारोबार: एक वर्षमै थपिए साढे ५२ लाख प्रयोगकर्ता, २ खर्ब १९ अर्ब भुक्तानी  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बढ्दै छ वालेट मार्फत हुने कारोबार: एक वर्षमै थपिए साढे ५२ लाख प्रयोगकर्ता, २ खर्ब १९ अर्ब भुक्तानी 



काठमाडौं । पछिल्लो समय वालेट मार्फत हुने कारोबार वृद्धि भएको छ । विद्युतीय भुक्तानी सेवा प्रदायक वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको हो ।  गत असारमा महिनामा औसत भन्दा बढी वालेट मार्फत कारोबार भएको देखिन्छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । 

समीक्षा महिनामा २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । तर,  गत वर्षको कुल कारोबार २ खर्ब १९ अर्ब ८० करोड ८० लाख रुपैयाँ बढी छ । नेपालमा मासिक औसत १८ अर्ब ३१ करोड करोड बढी वालेट मार्फत कारोबार हुने गरेको छ । गत वर्षको चैत, वैशाख र जेठमा पनि औसत भन्दा बढी कारोबार भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

गत वर्षको चैतमा पनि वालेट मार्फत १९ अर्ब ९२ करोड २० लाख, वैशाखमा १९ अर्ब २५ करोड ५० लाख र जेठमा २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको पुष्टि गरेको छ । वालेट कारोबार प्रचलनमा आएको केही वर्ष मात्रै भएको छ । तर, प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको तथ्याङ्कले देखाउँछ । विशषगरि वालेटको सेवा तथा सुविधाको दायर व्यापक रूपमा विस्तार भएसङै यस मार्फत हुने कारोबार रकम बढेको गएको राष्ट्र बैङ्कले जनाएको छ ।

वालेट मार्फत बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्ज लगायत थुप्रै सेवा सुविधा यसमा हुन्छन् । हाल वालेट प्रयोगकर्ताको सङ्ख्या भने १ करोड ८९ लाख ४१ हजार ७९३ पुगेको छ । एक वर्षमै ५२ लाख ६५ हजार ८०० वालेट प्रयोगकर्ताहरू थपिएका हुन् । तथ्याङ्क अनुसार मासिक औसतमा ४ लाख ३८ हजार प्रयोगकर्ताहरू थपिएको देखिन्छ ।

हाल नेपालमा ई सेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेट जस्ता अन्य वालेट कम्पनीले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । यसको दायरा बढेसँगै प्रयोगकर्ता र कारोबार रकम पनि बढ्दै गएको हो । केही वर्षअघि वालेट कारोबार सीमित सङ्ख्यामा मात्रै रहेको थियो । तर, पछिल्लो समय धेरै किसिमका भुक्तानी यसैमार्फत नै भइरहेको छ ।

राष्ट्र बैङ्कले वालेट मार्फत गरिने कारोबारको सीमा पनि बढाएको छ । पछिल्लो समय यसको व्यावसायिक विकास हुँदै गएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । यो आर्थिक रूपमा सुरक्षित पनि रहेकोले यसको प्रयोगकर्ता र कारोबार रकम बढेको उनीहरूको भनाई छ ।  

गत वर्ष कुल २१ करोड ३३ लाख ६७ हजार १४४ पटक वालेट मार्फत कारोबार भएको छ। गत आवको पहिलो महिना अर्थात् साउनमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वालेट मार्फत कारोबार भएको थियो । यस्तै, भदौ १७ अर्ब ६३ करोड, असोजमा १६ अर्ब ५६ करोड, कात्तिकमा १७ अर्ब २२ करोड बढी रकम वालेट मार्फत कारोबार भएको थियो ।

यस्तै, मङ्सिर मा १७ अर्ब ७३ करोड, पुसमा १८ अर्ब २६ करोड, माघमा १७ अर्ब ११ करोड र फागुनमा १८ अर्ब १५ करोड रुपैयाँ बढीका वालेट मार्फत कारोबार भएको थियो । 

स्रोत: नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्