२२ श्रावण २०८३, शुक्रबार

माल्दिभ्सविरुद्ध नेपालको शानदार जित, अभिनास बोहरा लिए ६ विकेट



काठमाडौँ । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी २० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ। २१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित हात पारेको हो ।

नेपालको जितमा अभिनास बोहराले ६ विकेट लिएका हुन्। ३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन्। बाँकी एक/एक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिएका थिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।

मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल आज ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।