३० कार्तिक २०८३, सोमबार

वाणिज्य बैंकहरूको औसत ब्याजदर ४ प्रतिशतमुनि झर्‍यो, मंसिरमा ६ बैंकले घटाए ब्याजदर



काठमाडौँ। वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४ प्रतिशत मुनि झरेको छ। बैंकिङ प्रणालीमा लामो समयदेखि थुप्रिएको अधिक तरलता र अपेक्षित रूपमा कर्जाको माग बढ्न नसक्दा वाणिज्य बैंकहरू निक्षेपको लागत घटाउने दबाबमा परेका हुन्।

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै बैंकहरूमा निक्षेप संकलन निरन्तर बढिरहे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार सुस्त रहँदा लगानीयोग्य रकम थुप्रिएर बैंकहरूले ब्याजदर कटौतीको नीति लिदै आएका छन्।

मंसिरका लागि ६ बैंकले घटाए निक्षेपको ब्याजदर

यसैबीच नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। अन्य १४ बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका हुन्। कुनै पनि बैंकले ब्याजदर बढाएका भने छैनन्।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाउँदै ब्याजदर ३.६५ प्रतिशतमा झारेको छ।

त्यस्तै, एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ। बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर तोकेका छन्। अन्य केही बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

ब्याजदर घटेसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ। यो ०.१०७ प्रतिशत बिन्दुको गिरावट हो। संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट घटेर मंसिरमा २.९९०५ प्रतिशत कायम भएको छ।

१४ बैंकले पुरानै दरलाई दिए निरन्तरता

मंसिर महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले ब्याजदर परिवर्तन गरेका छैनन्।