महानगर गौरव र स्वर्णिम योजना सञ्चालनको कार्यविधि बनाउनु: प्रमुख प्रशासकीय अधिकृत अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिय योजना सञ्चालन विधि आवश्यक परे कार्यविधि बनाउन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौँ प्लाजामा बसेको सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि काममा थप सहजता ल्याउन कार्यविधिको बाटो देखाएका हुन् । एक पटक सञ्चालन गर्नु पर्ने कार्यक्रमका लागि नीतिगत निर्णय भए पुग्छ । एउटै प्रकृतिको काम लामो समयसम्म चलाइराख्नु पर्ने भए कार्यविधि आवश्यक पर्छ । उनले कार्यक्रम सञ्चालनको अवधि, यस अघि भएका त्यस प्रकृतिका काम, सहभागिता, बजेटको व्यवस्था, बजेटको स्रोत जस्ता विषयका आधारमा कार्ययोजना बनाउन आग्रह गरे ।
प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताए । कतिपय कामका लागि जनशक्ति पुगेका छैनन् । जनशक्ति छैनन् भनेर काम रोक्न पनि मिल्दैन । यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी विभागीय प्रमुखले वहन गर्नुपर्छ उनले भने ।
इन्टर्नमा आएका विद्यार्थीहरुले ३३ प्रकारका कार्यविधिको मस्यौदा तयार पारेका छन् । विभागबाट मागेर होइन, कानुन विभागले काम र त्यसको सञ्चालन विधिका आधारमा मस्यौदा बनाएको हो । बैठकमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, ‘नभइ नहुने भए मात्र कानुन बनाउनु पर्ने, कार्यान्वयनमा नआउने कानुन बनाएर समय खर्च गर्नु हुदैन।’













