२२ श्रावण २०८३, शुक्रबार

अझै अन्यौलमा दशैंका लागि खुल्ने अग्रिम टिकट



काठमाडौँ । दशैंलाई लक्षित गरेर सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत सरकार र यातायात व्यवसायीबीच सहमति हुन सकेको छैन् ।

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झन्डै एक महिनाअगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । नेपालीको महान् चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन्।

समयमै टिकट खोल्दा घर जान चाहने विद्यार्थीलाई सहज हुने गरे पनि समयमा अग्रिम टिकट बुकिङ नखोली दसैँको मुखमा खोल्दा यात्रु दोब्बर र तेब्बर भाडा तिरेर घर जानुपर्ने अवस्था आउने गरेको छ।

देशका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, बिपी, अरनिको, ढल्केबर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन्।

पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब–भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको महासंघको भनाइ रहेको छ । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ।