सेयर धितो कर्जाको सीमाले लगानीकर्ता जिस्काउने काम गरियो, गभर्नरले हाम्रा कुरा सुनेनन्: रौनियार
काठमाडौं । सेयर लगानीकर्ता छोटेलाल रौनियारले नेपाल राष्ट्र बैङ्कका गभर्नरले लगानीकर्ताको कुरा नसुनेको बताए । उनले धितो कर्जाको सीमामा लगानीकर्तालाई जिस्काउने काम गरेको बताए ।
धितोपत्र ब्रोकर एसोसिएसन नेपालद्वारा विश्व लगानी सप्ताह २०२३ सन्दर्भमा आयोजित हाल पुँजी बजारमा देखिएका समस्या तथा समाधान विषयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने,– ‘राष्ट्र बैङ्कका गभर्नरले लगानीकर्ताको कुरा सुनेनन् । सेयर धितो कर्जाको नीति परिमार्जनले लगानीकर्तालाई जिस्काउने काम गरेको छ । आफ्नो गोजीबाट दिए जस्तो १५ करोड र २० करोड पुर्यायो ।’
उनले ४५ लाख लगानीकर्ता डिप्रेसनमा रहेको बताए । दशैं तिहारको मुखैमा पनि उत्साह नभएको उनको भनाई छ । ‘४५ लाख लगानीकर्ता डिप्रेसनमा छन्, दसैँ तिहारको उत्साह छैन । राष्ट्र बैङ्कले लगानीकर्तालाई नराम्रो मौद्रिक नीति ल्याउने काम गरेको छ’–उनले भने ।
सेयर लगानीकर्ताले बैङ्कको ब्याज तिर्न नसकेर घर जग्गा नै बेच्नु परेको उनले बताए । घर जग्गा बेचेर आन्दोलनमा आउनुपर्ने अवस्था आइसकेको उनको भनाई छ ।
उनले भने,–‘१८ खर्ब रुपैयाँ लगानीले गुमाएको छ । सेयर बजारमा सरकारले संसारमा कहीँ नभएको राजस्व तिरायो । लगानीकर्ताले बैङ्कको ब्याज तिर्न नसकेर घर जग्गा बेचेका छौ । अब आन्दोलनमा आउनुपर्ने अवस्था आइसकेको।’













