अपर तामाकोशीको हकप्रदमा अन्तिम दिनसम्म ३ अर्ब रुपैयाँ संकलन, कति कित्ता भरे ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा अन्तिम दिनसम्म३ अर्ब ८ करोड ६० लाख ३२ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २२ गते साँझ ५ः०७ बजेसम्म २ लाख ७४ हजार ९८५ जना आवेदकले ३ करोड ८ लाख ६० हजार ३२४ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज भएको हुदाँ साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र आवेदन दिन पाएका हुन् ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत रकम संकलन गर्न लागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।













