१७ श्रावण २०८३, आइतबार

आयु, आरोग्यता र मोक्ष दिनेवाली माता कालरात्रीको आरधना यसरी गर्नुहोस्



काठमाडौं । आज फूलपाति अर्थात् माता कालरात्रीको आरधना गर्ने दिन । नवदुर्गामा सातौं स्वरुप हो, माता कालरात्री । माता कालरात्री आदी पराशक्तिको रौद्र स्वरुप हो । उनको यस रुपबारे सर्वप्रथम उल्लेख देवी महात्म्यमा गरिएको थियो । अधिकांश मानिसहरु माता काली र माता कालरात्रीलाई एकै देवीको रुपमा चिन्दछन् । तर यी दुई देवीहरु आदी पराशक्तिका दुई भिन्न अभिव्यक्ति हुन् ।

महादेवी अम्बिकाले शुम्भ, निशुम्भलाई मार्नका निम्ति माता कालरात्रीको स्वरुप धारण गरेकी थिइन् । महाभारतको सौप्तिक पर्वमा पनि माता कालरात्रीको उल्लेख गरिएको छ । यस बाहेक स्कन्द पुराण, देवी भागवत पुराण, वराह पुराण र विष्णुभर्मोत्तर पुराणमा पनि माता कालरात्रीबारे उल्लेख पाइन्छ ।

शास्त्रमा माता कालरात्रीलाई श्यामवर्णा र अति भयङ्कर स्वरुपमा चित्रित गरिएको छ । मानिसहरु श्यामा कालीलाई माता महाकालीको रुप मान्दछन् । तर मत्स्य पुराणमा माता कालरात्रीलाई श्यामाको नामले सम्बोधन गरिएको छ । कालरात्रीको स्वरुप वास्तवमा धर्तिमा उज्यालो हुनुअघिको भयंकर अन्धकार समान छ । उनी भक्तको मनमा ज्ञान प्रकाशको सूर्योदय ल्याउने घोषणा गर्छिन् ।

उनी चतुरभुजा (चार हात भएकी) शक्ति स्वरुपमा हुन् । उनी बायाँतर्फका दुई हातमा खड्ग र बज्र धारण गर्छिन् । दाहिने तिरका दुई हात वर मुद्रा र अभय मुद्रामा रहन्छन् । माताले यस स्वरुपमा आफ्नो शरीरको माथिल्लो भागमा रातो लुगा लगाएकी हुन्छिन् । मकर मुनी बाघको छाला लगाएकी हुन्छिन् । उनको सघन केश सधैं माथि उठेको वा हावामा उडिरहेजस्तो देखिन्छ । केशले माताको दिव्य स्वरुपलाई असाध्यै भयावह बनाएको छ ।

उनी कण्टक आभूषिता अर्थात् काँडाले बनेको गहना धारण गर्छिन् । उनको बहानको रुपमा गधालाई चित्रित गरिएको छ । माता कालरात्रीलाई करालवदना, धौमी, श्यामा, रौद्री, धूमोर्णा, मुक्तकेशी, शुभंकरी लगायत नामले पनि पुकारिन्छ । माता कालरात्रीको भैरवका रुपमा कालाधर महादेवलाई उल्लेख गरिएको छ । माता कालरात्रीको पूजा गर्नुअघि कालाधर महादेवको पूजा गर्नु अति आवस्यक हुन्छ । उनको पूजनबिना माता कालरात्रीको पूजा अपूर्ण मानिन्छ ।

माता कालरात्रीको उपासना गर्नाले भक्तको समस्त भय नास हुन्छ । यीनको भक्तिद्वारा ज्ञान, आरोग्यता, बल र मोक्ष प्राप्त हुन्छ । माता आफ्ना भक्तको अन्तरआत्मालाई साहस एवम् आत्मविस्वासले भरिदिन्छिन् ।

माता अति उग्र स्वभावकी छिन् । तर आफ्ना भक्तका लागि उनी सदैव सौम्यरुपा रहन्छिन् । यीनको साधनाबाट साधकले मोक्ष प्राप्त गर्न सक्छ । उनी काल स्वरुपा हुन् । माता सन्तुष्ट भएमा आयु, आरोग्यता, शत्रु नाश एवम् मोक्षको वरदान दिन्छिन् । उनलाई आदी पराशक्तिको रौद्र कोटी स्वरुपमा वर्णन गरिएको छ ।

साधना र पूजा विधी

शक्ति साधना गर्ने साधकले ‘ॐ ह्रीं क्रीं क्रीं हूं’ बिजमन्त्रको जप गर्दै नवरात्रीको सातौं दिनको मध्यरात्रीबाट यो साधना थाल्नु पर्छ । यसका लागि आफ्नो प्राणकेन्द्र सहस्रार चक्रमा स्थित गर्नु आवस्यक हुन्छ । तर गृहस्त मानिसले भने माता कालरात्रीको पूजा अर्चना प्रत्येक शनिबार गर्न सक्छन् ।

गृहस्त मानिसका लागि माताको उपाषना मन्त्र ‘ॐ कालरात्र्यै नमः’को जप गर्नु राम्रो हुन्छ । यस मन्त्रलाई १०१ पटक जप गरेर शिवलिङ्ग वा माताको मूर्तिलाई जल अभिषेक गर्नुपर्छ । त्यसपछि नीलकमल, जबा वा हरसिंगारको मालाले श्रृङ्गार गरेर जबा वा हरसिंगारको फूलले पुष्पाञ्जली दिन पर्छ ।