१७ श्रावण २०८३, आइतबार

आज महाष्टमीः सुख, समृद्धि, दीर्घायु र ज्ञान दिनेवाली महागौरीको आरधना



काठमाडौं । मता महागौरी आदी पराशक्तिको सौम्य स्वरुप हुन् । चन्द्र शोभायुक्त अत्यन्त उज्ज्वल वर्ण हुनाका कारण माताको यस स्वरुपलाई महागौरी नामले सम्बोधित गरिन्छ । देवी महात्म्यका अनुसार जब सबै देवताले मिलेर आफ्नो शक्तिलाई एकत्रित गर्दै आदीशक्ति महामायाको स्मरण गरेका थिए, तब नै सहस्रकोटी सूर्य समान उज्ज्वल स्वरुपमा महादेवी प्रकट भएकी थिइन् । उनको यस दीव्य स्वरुप देखेर देवराज इन्द्रले उनलाई माता महागौरीको नामले सम्बोधन गरेका थिए ।

शास्त्रमा माता महागौरीलाई उज्वल एवम् स्वेतवर्णा भनेर उल्लेख गरेको छ । उनलाई अति सौम्य स्वरुपमा प्रस्तुत गरिएको छ । उनी पनि चतुरभूजा शक्ति स्वरुपा हुन् । उनी देब्रेतिरको एक हातले डमरु समात्छिन् र अर्को हातलाई वर मुद्रामा राख्छिन् । दाहिने तर्फको एक हातमा त्रिशूल रहन्छ भने अर्को हातलाई अभय मुद्रामा राख्छिन् ।

माता श्वेत वस्त्र पहिरिन्छिन् । उनको शीरमा जटामुकुट रहेको हुन्छ । जसले उनको यस दीव्य स्वरुपलाई अझै करुणामयी बनाइदिन्छ । उनी श्वेत पुष्प आभूषिता हुन् । अर्थात् सेतो रंगका फूलबाट बनेका अलंकार धारण गर्छिन् । उनको बहानको रुपमा साँढेलाई चित्रित गरिएको छ । यसै कारण उनलाई वृषारूढाको नामले पनि सम्बोधन गरिन्छ ।

माताले आफ्ना भक्त एवम् साधकलाई विगतमा गरेका सम्पूर्ण पापबाट मुक्त गरिदिने हुनाले उनलाई क्षमाधात्रीको नामले पुकारिन्छ । उनी शान्ति एवम् धैर्यताको प्रतीक हुन् । माताको यस रुपको पूजा गर्नाले भक्तको मन एवम् हृदय शुद्ध र पवित्र हुन्छ भन्ने मान्यता छ । अति सौम्य स्वभावकी माताको साधनाद्वारा साधकले अष्ट विद्या प्राप्त गर्नसक्छ । उनी पनि ज्ञान ज्योति स्वरुपमा हुन् ।

माता दयालु, ममतामयी र करुणामयी छिन् । उनी आफ्ना सबै भक्तका समस्त इच्छाहरु पूर्ण गरिदिन्छिन् । माता महागौरी समस्त प्रकारका कष्ट एवम् पीडाबाट मुक्ति प्रदान गर्छिन् ।

माता महागौरी मनलाई शान्ति प्रदान गर्छिन् । यिनको भक्तिद्वारा परमानन्द प्राप्त हुन्छ । वैदिक ज्योतिष अनुसार शक्ति, समृद्धि, यश एवम् बुद्धिका दाता राहु देवी महागौरीद्वारा शासित हुन्छ । तसर्थ माताको पूर्जा गर्नाले राहुको कुनै पनि खराब प्रभावलाई हटाउन सकिन्छ । महादशा एवम् कालशर्प योगको प्रभाव कम गर्नका लागि पनि माताको पूजा आवस्यक छ ।

साधकले यिनको साधनाद्वारा माया शक्तिलाई वशमा ल्याउन सक्छ । माता महागौरी मायाकी स्रोत हुन् । उनको वास सप्त चक्रभन्दा माथि सोम चक्रमा हुन्छ । सोमचक्रबारे धेरै मानिसहरु जानकार नहुन सक्छन् । सहस्रार चक्रबाट उन्मुक्ति पाएपछि सोम चक्रबाट सोमरस (अमृत)को वर्षा हुन्छ । यसले साधकलाई इच्छामृत्यु एवम् पूर्ण आरोग्यता प्रदान गर्छ ।

साधना एवम् पूजा विधी

यसअघिका साधनाबाट साधकले शरीरका सातै चक्र जागृत अर्थात् उन्मुख गरिसकेको हुन्छ । यो साधनाको अन्त्य होइन । त्यहीँबाटल पराध्यात्मिक साधना सुरु हुन्छ । साधकले सोमचक्र सक्रीय बनाएपछि सोमरसको वर्षा हुन थाल्छ । जसलाई प्राप्त गरेपश्चात् साधकले ब्रह्माण्डीय अमृतको स्वाद चाख्छ । यसबाट साधकले परमशान्तिका साथै परमानन्द प्राप्त गर्छ ।

तर गृहस्त मानिसले माता महागौरीको पूजा प्रत्येक शुक्रबार गर्नसक्छन् । ‘ॐ देवी महागौर्यै नमः’ बीज मन्त्रलाई १०८ पटक जप गरेर शिवलिंग वा माताको मूर्तिलाई जलले अभिषेक गर्नुपर्छ । माताको यस रुपलाई नीलकमल, मोगरा वा हरसिंगारको माला र पुष्पाञ्जली अर्पण गुर्नपर्ने हुन्छ ।

यसबाट साधक वा भक्तको सम्पूर्ण कष्ट निवारण हुनुका साथै सुख, समृद्धि, धन, दीर्घायु, आरोग्यता, शत्रुनाश, ज्ञान एवम् शान्ति प्राप्ति हुन्छ ।