मेरो दशैँ: खसीको मासु र चङ्गा
सञ्चित बज्राचार्य
दशैँ सम्पुर्ण नेपालीहरुको महान चाड हो । हिन्दु बुद्धिष्टहरुले दशैँलाई भव्य रुपमा मनाउँछन् । मलाई त बच्चैदेखी दशैँ एकदमै रमाइलो लाग्छ । बच्चा उमेरमा आफ्नो जिम्मेवारी खासै हुँदैन थ्यो ।
दशैँ एउटा संकृती पर्व हो । यो पर्व हाम्रो संस्कृतिको प्रतीक बनेको छ । जस्तोसुकै प्रोफाइलको मान्छे भए पनि आ–आफ्नो तरीकाले दशै मनाइन्छ । उच्चपदस्थ व्यक्तिहरुले धेरै खाने भन्ने हुँदैन । अहिले त आफ्नो स्वास्थ्यको अवस्थालाई हेरेर खाना खानुपर्ने बाध्यता छ ।
मासुमा सौखीन, रक्सी वितृष्णा
मेरो दशैँ मनाउने तरिका अति समान्य छ । म कहिल्यै कल्कोहल (जाँडरक्सि) खाँदिन । म जुन समाज संस्कारमा जन्मिएँ, त्यो संस्कारले त्यसो (रक्सि नखानू) भन्दैन । म दशैँमा होस वा अरु बेला पनि कहिल्यै रक्सी पिउँदिन । धुम्रपान पनि गर्दिन । जुवा तास पनि खेल्न आउँदैन ।
म मासुमा सौखिन छु । त्यसमा पनि खसीकै मासु मन पर्छ । कुखुरको मासु त मासुनै होइन जस्तो लाग्छ । त्यसैले दशैँमा खसीको मासु खुब खान्छु ।
अघि–पछि मन्दिर जान नसकिए पनि दशैँमा कुनै एक दिन फुर्सद निकालेर मन्दिर जाने गरेको छु । अष्टमीको दिन दिउँसो काठमाडौंका शक्तिपीठहरु (देवीका मन्दिर) पुग्छु । म पुरै आस्तिक हूँ । धर्ममा एकदमै विश्वास गर्छु । मन्दिर जान्छु । कतै बाटोमा मठ–मन्दिर देखियो भने शीर निहुराएर ढोग्छु । तर व्रत बसेर पूजाआज गरेको छैन । हरेक दिन बिहान उठेर खाना खानुअघि आफ्नै मौलिक हिसावले भगवान सम्झिन्छु ।
म काठमाडौंमै जन्मे–हुर्के पनि गुच्चा खेलेर पाङ्ग्रा गुडाएर आएको हूँ । मलाई सानैदेखी गुच्चा खेल्न र चङ्गा उडाउन खुबै मन पर्छ । आजसम्म पनि चङ्गा उडाउने गरेको छु । दशैँमा मैले गर्ने काम भनेको नै घरको छतमा गएर चङ्गा उडाउने हो । विशेष गरी नवमीको दिन चङ्गा उडाउने दिन हो मेरो लागी ।
आफूले मात्रै चङ्गा उयडाएर रमाइलो हुँदैन, चङ्गा जुधाउन पाउनु पर्छ । अर्काको चङ्गा काट्न सके झनै रमाइलो लाग्छ । मलाई राम्रोसँग चङ्गा उडाउन आउँछ । लट्टाई धेरै पुरानो छ, चङ्गा किन्न बाँकी छ । हजार रुपैयाँ सम्मको चङ्गा किन्ने गरेको छु ।
पहिले पहिले दशैँ बजार भनेर भृकुटीमण्डपमा हाट लाग्थ्यो । हामी काठमाडौंका मान्छेहरु दशैँ आउन लाग्यो भनेपछि त्यही मेलामा जान्थ्यौँ । म पशुपति नजिकै जन्मेको हूँ । हामी सानोछँदा हाम्रो शहर भनेको अशन, इन्द्रचोक, न्युरोड हुन्थ्यो । त्यतिबेला दशैँ बजार मेला लाग्थ्यो ।
हामी बुवा आमासँग बजार जान्थ्यौँ । त्यहाँ बोटिङ गर्न, पिङ खेल्न रमाउन पाइनथ्यो । अहिले जस्तो मनोरञ्जनका अनेक साधनहरु त्यसबेला थिएनन् ।
सीईओ, प्रभु इन्स्योरेन्स लि.













