फष्टाउँदै घर जग्गा व्यापार: बढ्यो कारोबार र राजश्व, अर्थतन्त्र चलायमान भएको हो ?
काठमाडौँ । पछिल्लो समय देशभर घर जग्गा कारोबार बढेको छ । गत वर्षहरूका तुलनामा घर जग्गा कारोबारले गति लिन थालेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार घर जग्गा कारोबार बढ्न थालेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा १ लाख ४८ हजार ८३० वटा घरजग्गा किनबेच भएको छ । चालु आवको असोज महिनामा मात्रै देशभर ३९ हजार ८८१ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ । जुन, गत वर्षको असोजको तुलनामा ५४.६४ प्रतिशतले बढी हो । गत वर्षको असोज महिनामा भने देशभर कुल २५ हजार ७८९ वटा मात्रै घर जग्गा किनबेच भएको थियो ।
विभागका अनुसार गत भदौ महिनाको तुलनामा पनि असोजमा थप ४ हजार १९५ वटा अर्थात् ११.७५ प्रतिशत बढी घर जग्गा खरिदबिक्री भएको छ । गत भदौमा भने देशभर ३५ हजार ६८६ वटा घर जग्गा किनबेच भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा पनि ३९ हजार ८८१ वटा घर जग्गा किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विशेषगरि सरकारले गत साउन अन्तिमदेखि कित्ताकाट खुलाएको छ । अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सोही निर्णयपछि नै बिस्तारै घर जग्गा कारोबार बढ्दै गएको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार पछिल्लो पटक बैङ्कहरूको ब्याजदर पनि घटेको छ, नेपाल भित्रने रेमिट्यान्स पनि बढको छ । जसले घर जग्गा कारोबार बढ्न ठुलो टेवा पुर्याएको व्यवसायीहरू बताउँछन् । ‘पछिल्लो समय घर जग्गा कारोबार बढ्न थालेको छ । विशेषगरि कित्ताकाट खुलेपछि नै कारोबार बढेको हो । यसमा बैङ्कहरूको ब्याजदर घट्नु र नेपाल भित्रने रेमिट्यान्स पनि बढ्नु जस्ता कारणहरू मुख्य हुन्’–एक घर जग्गा कारोबारीले भने ।
यद्यपि, अझै पनि सहज रूपमा कित्ताकाट हुन नसेको उनीहरूको तर्क छ । व्यवसायीहरू भन्छन्,–‘ सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा सकिरहेको छैन, त्यसले गर्दा कारोबार तीव्रताका साथ बढ्न सकिरहेको छैन ।’ यद्यपि, अहिले घर जग्गा कारोबारको सिजन पनि खास नभएकाले कारोबार सोचेजस्तो बढ्न नसकेको उनीहरूको बताउँछन् । तर, आगामी महिनाहरूमा भने घर जग्गा कारोबार बढ्ने उनीहरूको भनाई छ । ‘कित्ताकाटको परिणाम अब बिस्तारै देखिन्छ । बैङ्कहरूमा पनि लगानीयोग्य रकम बढी रहेको अवस्था छ । ब्याजदर पनि घट्दो छ । यसले आगामी दिनमा घर जग्गा कारोबार फष्टाउँने देखिन्छ’–नेपाल घर जग्गा तथा आवास विकास समितिका एक उच्च अधिकारीले भने ।
अहिले नेपालमा दसैैं तिहार लगायतका चाडपर्वहरूको सिजन चलिरहेकाले पनि घर जग्गा कारोबार केही घट्न सक्ने उनले बताए । यद्यपि, अन्य महिनाहरूको तुलनामा आगामी मङ्सिरदेखि नै घर जग्गा कारोबार बढ्ने उनको भनाई छ ।
घर जग्गा कारोबारसँगै राजश्वमा पनि बढोत्तरी
देशभर घर जग्गा कारोबार बढेसँगै त्यसमा सरकारले प्राप्त गर्ने राजश्वमा पनि बढोत्तरी देखिएको छ। गत वर्षको असोज महिनामा २५ हजार ७८९ वटा घर जग्गा कारोबार भएको थियो । सो महिनामा कुल २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो । तर, यस वर्षको असोज महिनामा आइपुग्दा भने त्यस्तो राजश्व ५९.०३ प्रतिशतले बढेको छ । गत असोजमा देशभरबाट कुल ४ अर्ब ८ करोड ६६ लाख २९ हजार रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ ।
विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् साउनमा देशभर भएको घर जग्गा किनबेचबाट राज्यले २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । यस्तै, गत भदौमा पनि ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।













