मुख्य सिजनमै ‘सुन बजार’मा शिथिलता, चुलिँदो मूल्य कहाँ पुगेर थामिएला ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुख्य सिजनमै ‘सुन बजार’मा शिथिलता, चुलिँदो मूल्य कहाँ पुगेर थामिएला ?



काठमाडौं । सुनको सर्वाधिक खपत हुने समय नै बिवाहको मौसम हो । जति धेरै बिहेका लगन, उति बढी सुनको ब्यापार । हिन्दुबाहुल्य नेपालमा अधिकतर जोडीहरूले बिवाह बन्धनमा बाँधिनका लागि मंसिर, माघ, फागुनजस्ता महिना रोज्ने गर्छन् ।

यो साल पनि बिवाहको मौसम शुरु भइसकेको छ । कार्तिक शुक्ल एकादशीमा तुलसीको बिवाह गरेपछि बिहेको हिउँदे मौसम शुरु हुन्छ । तर यो सालको यही मौसममा नेपाली सुन बजार भने चकमन्न प्रायः देखिएको छ ।

अघिल्ला वर्षहरूमा जस्तो सुन कारोबारमा उत्साह बढ्नै नसकेको ब्यापारी व्यवसायीले बताएका छन् । बिवाहको लगनको महिना सुरु भएता पनि कारोबारमा भने सुस्ताएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

दशैँ, तिहारमा सन्तोषजनक नै रहेको सुनको व्यापार मंसिर लागेसँगै कमी आएको अध्यक्ष शाक्यले जानकारी दिए । अघिल्ला वर्षहरूको मंसिरमा दैनिक ५० किलोग्राम (केजी)भन्दा धेरै सुन खपत हुने गरको थियो । तर, अहिले २० केजी हाराहारीमामात्रै खपत भइरहेको अध्यक्ष शाक्यले बताए ।

लामो समयदेखि जारी आर्थिक समस्याहरूका कारण यो साल बढी खर्च गरेर विवाह गर्न मानिसहरू उत्साही नदेखिएको व्यवसायीको भनाइ छ । सकेसम्म बिहे नै पछि धकेल्ने, नसक्नेले पनि पहिलेको तुलनामा कम खर्च गर्ने परिपाटी बनेर सुनको कारोबारमा कमी आएको आँकलन गरिएको उनीहरूले बताएका छन् ।

त्यसमाथि देशमा बढिरहेको राजनीतिक खिचातानीले पनि घरेलु अर्थतन्त्रको माहोल सुधार्न अवरोध पुर्याइरहेको छ । यसको प्रत्येक्ष मारमा अन्य क्षेत्रजस्तै सुनचाँदी कारोबार पनि परेको व्यवसायीको बुझाइ छ ।

हरेक दिनजसो राजनीतिक दल तथा अभियान्ताहरूको प्रदर्शनले समेत सुनको कारोबारलाई घटाउनमा भूमिका खेलेको व्यवसायीको ठहर छ । ‘भर्खरैमात्र ठूला चाडपर्व सकिएका छन् । दशैँ, तिहार लगायतका पर्वमा नेपालीहरूको ठूलै खर्च हुने गर्छ’, अध्यक्ष शाक्यले भने, ‘त्यसले पनि कारोबारमा केही असर गरेको देखिन्छ । मुख्यतः देशको राजनैतिक खिचातानीले गर्दा नै यस्तो भएको हो ।’

दसैं, तिहारमा केही बढेको व्यापारले मंसिरमा पनि कारोबार बढ्ने आशा व्यवसायीमा थियो । तर अपेक्षा गरेजस्तो ब्यापार बढ्न नसक्दा व्यवसायीहरू उत्साहित हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय रुपमै सुन महँगिएको असरले पनि बजार मनोविज्ञान बदल्न सघाइरहेको छ । भारतीय रुपयेसँग विनिमय अंकुश गाँसिएको नेपाली मुद्राको निरन्तर अवमूल्यन् र अमेरिकी डलरको कीर्तिमानी महँगाईले पनि सुनको भाउ अझै उचाल्न बल दिइरहेको छ ।

‘आर्थिक मन्दी र मूल्य वृद्धि लगायतको मारमा उपभोक्ताहरू परेका छन् । उनीहरूको खर्च गर्ने क्षमता पनि घटेको छ । यी सबै कारणले पहिलेजस्तो कारोबार बढ्न सकेको छैन’, अध्यक्ष शाक्यको भनाइ छ ।

हाल नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । तिहार लगत्तै अर्थात् कात्तिकपछि नै सुनको भाउ ३ हजार ७०० रुपैयाँले बढिसकेको छ । निरन्तर बढीरहेको मूल्यले मानिसहरूलाई सुन किनिहाल्न निरुत्साहित गरेको छ ।

रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा अन्तरराष्ट्रिय रुपमै सुन महँगिएको छ । यो मूल्य बृद्धि कहाँ पुगेर थामिन्छ भन्ने निश्चय छैन । त्यस्तै, अनिश्चयमा फस्दै गएको छ नेपालको घरेलु अर्थतन्त्र र गहनाको बजार पनि ।


प्रतिक्रिया दिनुहोस्