नेपाल एयरलाइन्सको आम्दानी साढे दुई गुणा बढ्यो, थप जहाज किन्न आवश्यक कार्ययोजना अघि बढाउँदै
नेपाल एयरलाइन्सको आम्दानी साढे दुई गुणा बढ्यो, थप जहाज किन्न आवश्यक कार्ययोजना अघि बढाउँदै
काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । निगमले तीन वर्षमै १४४ प्रतिशतले आम्दानी वृद्धि गरेको हो ।
निगमले गत आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन आव २०७७/७८ को तुलनामा भने भने साढे दुई गुणा अर्थात् १३ अर्ब १३ करोड रुपैयाँले बढी हो । महालेखा परीक्षकको लेखापरिक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार आव २०७७/७८ मा निगमको कुल आम्दानी ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुन्छ । निगमले आव अघिल्लो २०७८/७९ मा पनि १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । निगमले पछिल्लो तीन वर्षमै आम्दानी उल्लेख्य रूपमा बढाउँदै गएको देखिन्छ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढङ्गले बजारीकरण गर्ने निगमले जनाएको छ ।
निगमले भन्यो,–‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको छ । हामी अझै गुणस्तरीय सेवाका लागि विस्तृत कार्ययोजना बनाई अगाडि बढ्दैछौं ।’
विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् । अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको कम्पनीले जनाएको छ ।













