हिमालयन रि इन्स्योरेन्सको आइपिओ बाँडफाँट, आवेदकले पाए १० देखि ४० कित्तासम्म सेयर
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बुधवार १० बजे कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृत भएको थियो । कुल आवेदन भने १५ लाख ७३ हजार २१९ जनाले दिएका थिए । यीमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।
कम्पनीमा आइपीओ आवेदन दिएर स्वीकृत भएका सबै आवेदकले १० कित्तादेखि ४० कित्तासम्म सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर प्राप्त गरेका हुन् । ३० कित्ताभन्दा बढी आवेदन दिने २९ हजार २१ जनाले भने थप १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।
यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको थियो ।














