१३ कार्तिक २०८३, शुक्रबार

यस्ताे बन्याे डिब्यानको नयाँ कार्यसमिति



काठमाडाैँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (डिब्यान) ले आफ्नो नयाँ नेतृत्व पाएको छ। धुलिखेलमा आयोजना भइरहेको संस्थाको एक्काइसौं वार्षिक साधारणसभाले आगामी दुई वर्षका कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।

यस प्रक्रियामा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली संस्थाको नयाँ अध्यक्षका रूपमा चुनिएका छन्। यसअघि उनी संस्थामा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए। वित्तीय बजारमा देखिएका विभिन्न जटिलता र तरलता व्यवस्थापनका चुनौतीहरूबीच आएको यो नेतृत्व परिवर्तनलाई अर्थतन्त्रको यो क्षेत्रले निकै चासोका साथ हेरेको छ।

यसअघि सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले डिब्यानको नेतृत्व सम्हालिरहेका थिए। गत भदौ १७ गते उनको बैंकको कार्यकाल सकिएसँगै संघको अध्यक्ष पदमा पनि उनी नरहने परिस्थिति बनेको थियो।

विधान अनुसार बैंकको प्रमुख कार्यकारीको पद नरहेपछि संघको सदस्यता पनि स्वतः समाप्त हुने भएकाले नेतृत्वमा रिक्तता हुन नदिन थकालीले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए। अहिले आएर साधारणसभाले उनलाई औपचारिक रूपमा नै पूर्ण कार्यकालका लागि बागडोर सुम्पिएको हो।

अध्यक्षसँगै संस्थाका अन्य महत्त्वपूर्ण पदहरूको समेत टुंगो आपसी सहमतिमै लगाइएको छ। साधारणसभामा सहभागी उच्च स्रोतले दिएको जानकारी अनुसार संगठनको उपाध्यक्ष पदमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्याय चयन भएका छन्।

त्यसैगरी, सचिव पदको जिम्मेवारी ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले पाएका छन् भने कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले सहमतिमै जिम्मेवारी सम्हालेका छन्।

डिब्यानको संगठनात्मक संरचना अनुसार चारजना पदाधिकारी, तीनजना केन्द्रीय सदस्य र दुईजना प्रादेशिक क्षेत्रबाट प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ। यसैक्रममा हालै मात्र सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त रविन सिजापती, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य कार्यसमिति सदस्यमा चयन भएका छन्।

राष्ट्रिय स्तरका विकास बैंकहरूसँगै क्षेत्रीयस्तरका बैंकहरूको आवाजलाई पनि उत्तिकै बलियो रूपमा समेटिएको छ। प्रादेशिक क्षेत्रको प्रतिनिधित्वको हिसाबले पोखरास्थित ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र धरानको मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाइँ कार्यसमितिमा चुनिएका छन्।

संस्थाभित्र सबै पक्षको उचित सम्मान, सन्तुलन र सहभागिता सुनिश्चित गर्नका लागि लामो समयदेखि गृहकार्य गरिएको र सोही अनुरूप सर्वसम्मत रूपमा नयाँ कार्यसमितिलाई पूर्णता दिएको बैंकिङ वृत्तले जनाएको छ।