तीन महिनामा थपियाे १ खर्ब २३ अर्ब सार्वजनिक ऋण, साँवा-ब्याज भुक्तानीमा मात्रै ९८ अर्ब बढी खर्च
काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन- भदाै-असोज) मा १ खर्ब २३ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएकाे छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २९ खर्ब ८१ अर्ब रूपैयाा बराबर रहेको सार्वजनिक ऋण असाेज मसान्तसम्म पुग्दा ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
याे सँगै मुलकको सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत अर्थात १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत अर्थात १४ खर्ब १० अर्ब ३१ करोड ९ लाख रुपैयाँ रहेकाे छ।
पहिलाे तीन महिनामा यस अवधिमा विनिमय दरका कारण मुलुकलाई १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ नाफा भएकाे छ। कार्यालयका अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको आधार ४५.५९ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण २१.३७ प्रतिशत र वाह्य ऋण २४.२२ प्रतिशत बराबर छ ।
साँवा–ब्याज भुक्तानीमा ९८ अर्ब खर्च
सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड़ ३५ लाख रुपैयाँ खर्च गरेको छ। यो वार्षिक बजेट विनियोजनको २३.६६ प्रतिशत हो। जसअनुसार ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ साँवा र २१ अर्ब १२ करोड़ ५७ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ।
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। असोज मसान्तसम्मको भुक्तानीपछि अब ३ खर्ब १९ अर्ब १ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
ऋण परिचालनको लक्ष्य र प्रगति
सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, असोज मसान्तसम्ममा १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्र ऋण प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो।
ऋण परिचालनको प्रगतिमा आन्तरिक ऋण अगाडि देखिएको छ। यस अवधिमा आन्तरिक ऋणतर्फ १ खर्ब रुपैयाँ (लक्ष्यको २४.३९ प्रतिशत) परिचालन भएको छ। सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य रहेकामा असोज मसान्तसम्म २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ (लक्ष्यको ९.३९ प्रतिशत) मात्र प्राप्त भएको छ। तीन महिनामा प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.०९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.९१ प्रतिशत रहेको छ।
वार्षिक लक्ष्य पूरा गर्न सरकारले अब बाँकी अवधिमा ५ खर्ब ३४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ ऋण परिचालन गर्नुपर्नेछ। यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब १० अर्ब रुपैयाँ र बाह्य ऋणतर्फ २ खर्ब २४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ जुटाउन बाँकी छ।















