११ श्रावण २०८३, सोमबार

एकै दिन तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कुनको बोनस र नगद कति ?



काठमाडौं । बिहीबार एकै दिन तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी तीन वटै कम्पनीले शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्दैछन् । त्यसकै आधारमा आज अर्थात् पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

बोटलर्स नेपाल (तराई) ले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ ।

यस्तै श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

यता, मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।