बुक बिल्डिङ्ग मार्फत माघ १० गतेदेखि आइपिओ जारी गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स, कति तोकियो मूल्य ?
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले बिल्डिङ्ग प्रक्रिया मार्फत माघ १० गतेदेखि आइपिओ जारी गर्ने भएको हो । पहिलो चरणमा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रिया मार्फत निष्कासन गर्न अनुमति पाएको छ ।
यसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ । यसकै आधारमा संस्थागत लगानीकर्ताहरूले बोलकबोल प्रक्रियामा सामेल हुन पाउनेछन् । त्यसका लागि माघ १४ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति भने आगामी माघ १४ गतेसम्म रहेको छ ।
कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको रजिस्टर्ड कार्यालय, यूएनआई शान्ति मार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम परिवर्तक भरी सिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।
कम्पनीले जारी गरेको सूचनाअनुसार बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलीपल्ट धितो पत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितो पत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण हुने जनाएको छ ।
कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितो पत्र कटअफ मूल्यमा बाँडफाँट गरिने सूचनामा उल्लेख छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल रहेको छ ।













