अर्थ मन्त्रालयले भन्यो,‘नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १८ खर्बको सीमा दिएको छ’
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि बजेटको सीमा तोकिएको छ । आयोगले नयाँ बजेटका लागि १८ खर्बको सीमा तोकिदिएको हो ।
शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारसँगको भेटघाटमा यस्तो जानकारी गराएका हुन् । उनले भने,‘नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगबाट १८ खर्बको सीमा दिइएको छ । हामीले बजेटका लागि तारन्तार छलफल गरिरहेका छौं ।’
गत सोमबार मात्रै अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समिक्षा गरेको थियो । समिक्षा मार्फत संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ रहेको छ। गत जेठ १५ गते अर्थमन्त्री महतले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री महतले मन्त्रालय र सरकारले बजेटलाई कटौती गर्न नसक्ने बताए । सार्वभौम संसदले पारित गरेको बजेटलाई मन्त्रालय र सरकारले कटौती गर्न नसक्ने उनको भनाई छ । उनले भने,‘बजेट कटौति गरेको होइन, सार्वभौम संसदले पारित गरेको बजेटलाई मन्त्रालय र सरकारले कटौति गर्न सक्दैन। राजस्वको लक्ष्य नै परिवर्तन गर्न सक्दैन।’
उनले प्रधानमन्त्रीलाई जानकारी नदिएर बजेट कटौति गरेको भन्दै भ्रमात्मक प्रचार भएको बताए । उनले प्रधानमन्त्री र अर्थमन्त्रीको मिल्त नभएको दावी गरे ।
बजेट सिलिङगको विषयमा पनि अर्थ मन्त्रालयले फरक मत राख्यो भन्ने गलत प्रचार भएको बताए । बजेटका लागि मन्त्रालयले तारन्तार छलफल गर्दै आएको उनको भनाई छ । ‘बजेट सिलिङको विषयमा अर्थमन्त्रालयले अकै मत राख्यो भन्ने बजारमा आएको छ, हामीले बजेटका लागि तारन्तार छलफल गर्छौ, आर्थिक स्रोतको संभावना र हाम्रो आवस्यकताको बीचमा तादात्म्य खोजिन्छ।’













