नेकपा एमाले तारकेश्वर–२ को वडा अधिवेशन, हरि थापा बने अध्यक्ष
काठमाडौँ । नेकपा एमाले तारकेश्वर गाउँपालिका २ नुवाकोटको दोस्रो वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
नेकपा एमालेका पूर्व सांसद नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले हरि बहादुर थापा मगरको अध्यक्षतामा वडा कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।
निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन गर्दै पूर्व सांसद खतिवडाले पार्टीको मूल जग भनेकै वडा कमिटी रहेकोले प्रत्यक्ष जनतासँग भिजेर काम गर्न निर्वाचित वडा कमिटीलाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य एवम् तारकेश्वर इन्चार्ज समर बहादुर आलेमगर, पूर्व तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश बस्ती, प्रेस चौतारी नेपालको सचिव विष्णु तारूके, जिल्ला कमिटी सदस्य एवम् तारकेश्वर ६ का वडाध्यक्ष नारायण रिमाल, जिल्ला कमिटी सदस्य कोपिला भट्ट र रामशरण रिमाल लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित कमिटीको उपाध्यक्ष चिरञ्जीवी अधिकारी, सचिव टेकबहादुर मास्की, उपसचिव रिता नेपाल, उपसचिव वासु अधिकारी रहेका छन् । अधिवेशनले २३ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो ।
















