नेशनल लाइफ इन्स्योरेन्स ३७ वर्षे यात्रा: स्तरीय बीमा सेवा, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ वर्षको लामो इतिहास पार गरेको छ । आज अर्थात् फागनु १० गतेदेखि नेशन लाइफ ३७ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले नेपालमा वि.स. २०४४ फागुन १० गते बीमा व्यवसाय सुरु गरेको थियो । सुरुवात कालमा कम्पनीले जीवन तथा निर्जीवन दुवै बीमा व्यवसाय गरेको थियो । तर, २०६३ सालदेखि भने छुट्टाछुट्टै बीमा व्यवसाय गर्दै आएको छ । हाल जीवन तर्फ नेशनल लाइफ र निर्जीवन तर्फ एनएलजी इन्स्योरेन्सबाट व्यवसाय गर्दै आएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स शुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय थालनी गरेको थियो । वि.स २०६१ सालदेखि जीवन बीमा व्यवसाय नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स नामको निर्जीवन कम्पनी खडा गरेर बीमा व्यवसाय गर्दै आएको छ । कम्पनीले व्यवसायको दायरा व्यापक रुपमा बढाएको छ । हालसम्म आइपुग्दा कम्पनीले ९३ अर्ब ५० करोड बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीद्वारा जारी बीमालेखको संख्या पनि ५५ लाख ५० हजार बढी छन् । कम्पनीले आफूलाई बीमितमैत्री पनि बनाउँदै छ । हालसम्म कम्पनीले ३३ अर्ब ३० करोड बढी दाबी भुक्तानी पनि दिएको छ ।
३७औं वर्षको यात्रामा आइपुग्दा कम्पनीले आगामी दिनमा अझै सबल एवं गुणस्तरीय बीमा सेवा प्रदान गर्ने दृढ संकल्प पनि गरेको छ । कम्पनीले आकर्षण बोनस र अधिकतम प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
कम्पनीको मुख्य वित्तीय सूचकहरु पनि सकारात्मक छन् । चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा कम्पनीले २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भने १६.९१ प्रतिशत बढी हो । ६ महिनामै कम्पनीको व्यापार अर्थात् खुद बीमा शुल्क आर्जन ८ अर्ब २८ करोड ७३ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ छ । कम्पनीले जीवन बीमा कोषमा ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । हाल कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १८ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ पनि १३२ रुपैयाँ २१ प्रसा कायम भएको छ ।













