‘पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्छ, चीनसँग विद्युत व्यापारको ढोका खुल्दैछ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालले विद्युत व्यापारमा ठुलो हासिल गर्ने बताए । बुधावर विश्वासको मत लिनु अघि प्रतिनिधि सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चीनसँगको विद्युत व्यापारको ढोका खुल्न लागेको बताए ।
उनले भने,’चीन तिर पनि विद्युत व्यापारको ढोका खुल्दैछ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।’
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत सम्झौता प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको जानकारी गराए । उक्त सम्झौता नेपालको समृद्धिका लागि इतिहासकै सबैभन्दा ठुलो र दुरगामी महत्वको सहमति भएको उनको भनाई छ।
भारतसँगै मात्रै नभई बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौत हुन लागेको उनले बताए । उनले भने, ‘भारतसँग मात्रै नभएर वंगलादेशमा पनि ४० मेगावाटसम्मको विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौता हुँदैछ ।’
अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उनको भाई छ । ‘संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु संकटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ ।’













