१५ श्रावण २०८३, शुक्रबार

महिलामुखी बजेट बनाउनुपर्ने आवश्यकता देखियो: अर्थमन्त्री पुन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वित्तीय नीति र मौद्रिक नीतिसँग तादाम्यता मिलाउन प्रयास हुने बताएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले विगतमा वित्तीय नीति र मौद्रिक नीतिको तादाम्यता नमिलेको उल्लेख गरे । उनले नीति कार्यक्रमको तयारी सुरु भईसकेको जानकारी गराए । ‘नीति तथता कार्यक्रमको तयारी सुरू भैसकेको छ । वित्तीय नीति र मौद्रिक नीतिसँग विगतमा तादाम्यता मिलेन । तर, अहिले मिलाउने प्रयास हुन्छ ।’

जलविद्युत क्षेत्र र खानीजन्य उद्योगहरु सरकारको प्राथमिकतामा रहेको उनले बताए । ‘जलविद्युत अहिले गर्नुपर्ने क्षेत्र हो । यसको विकास गरे मात्रै देश समृद्धि तर्फ अघि बढ्छ । अहिले १६ अर्बको विद्युत निर्यात गर्न सफल भएका छौं’, मन्त्री पुनले बताए । २०६२ सालमा जस्तो स्रोत नचाहिने नीतिले हाइड्रोमा लगानी बढेको मन्त्री पुनको भनाई छ ।

१६ वर्ष अघि सरकारले लिएको नीतिकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर हुँदै गएकाले अहिले निर्यात गर्न सफल भएको उनले बताए । आगामी पाँच वर्षमो आईटीका सेवा बिक्री गररै देशले राम्रो आम्दानी गर्न उनको भनाई छ । उनले भने, ‘अर्काे क्षेत्र भनेको आईटी क्षेत्र हो । आगामी ५ अर्वको आईटीका सेवा विक्री गरेर आन्दानी गर्न सक्छौ ।’

आगामी दिनमा महिलामुखी बजेट बनाउनुपर्ने आवश्यक देखिएको अर्थमन्त्री पुनको भनाई छ । हाल २७ प्रतिशत महिला सम्पत्तिको मालिक बनेको उनले बताए । उनले भने, ‘अहिलेको डाटाले महिलाको तुलनामा पुरूष बढि वैदेशिक रोजगारीमा रहेकाले महिलामुखी बजेट बनाउनुपर्ने आवश्यकता देखियो । २७ प्रतिशत महिला सम्पतिको मालिक बनेका छन्, यो निक्कै प्रगति हो ।’