निजी क्षेत्रसँगको बलियो सहकार्यले नै अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै छन्: प्रधानमन्त्री
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको बताए । निजी क्षेत्रसँग बलियो सहकार्यले अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद रहेको प्रचण्डको भनाई छ ।
उनले,‘सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको छ । वित्तीय नीति र मौद्रिक नीतिबिच दाम्पत्यता कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्यले नै अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद कुरा हो ।’
यद्यपि, अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उनको भनाई छ । तर, अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताए । यसका साथै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव नहुने उनको भनाई छ । यसलाई आत्मसाथ गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्य तालिका परिमार्जन गरेको उनको भनाई छ ।
यस पटक बजेट नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बिचमा गहन छलफल र अन्तरक्रिया हुने उनले जानकारी गराए । सोही अनुसार प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा बजेट, नीति तथा कार्यक्रम परिमार्जन हुने बताए । उनले असीमित आकाङ्क्षा र सीमित साधन स्रोतका बिच पनि सरकारले वैज्ञानिक नीति कार्यक्रम र बजेट तर्जुमा गर्ने बताए । यसलाई आर्थिक क्षेत्रमा नयाँ फड्को रूपमा लिएको उनको भनाई छ ।
आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य उद्योगमा जोड लगाउनै पर्ने प्रचण्डले बताए । आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन नसक्ने बताए । उनले साधारण खर्चमा मितव्ययिता अवलम्बन गरी पुँजीगत खर्च वृद्धि गर्न आयोजना कार्यक्रमहरूको प्राथमिककरण गर्ने उनले बताए ।
खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेका आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरण गर्नेतर्फ सरकारले गम्भीर गृहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाई छ ।
उद्योगी व्यवसायी तथा लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको उनले बताए । वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राखी निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकारको तर्फबाट आवश्यक व्यवस्थापन गरिने उनले बताए ।













