बोनस सेयर पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बोनस सेयर पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारण सभा डाकेको हो ।
सभामा लाभांश प्रस्ताव गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही प्रस्ताव सभामा पारित हुनेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज हुनेछ ।













