११ श्रावण २०८३, सोमबार

सेयर बजारमा लगानीकर्ताको सहभागिता बढ्दै, डिम्याट खाता खोल्नेको संख्या ६३ लाख नजिक

सेयर बजारमा लगानीकर्ताको सहभागिता बढ्दै, डिम्याट खाता खोल्नेको संख्या ६३ लाख नजिक



काठमाडौं। पछिल्लो समय नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । डिम्याट (हितग्राही खाता) खोल्नेको संख्या झन्डै ६३ लाख नजिक पुगेको छ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ८६ हजार ७०० पुगेको छ यो आज (मंगलबार)सम्मको तथ्यांक हो ।

आर्थिक सवेक्षण २०८०/०८१ का अनुसार २०८० फागुन मसान्तसम्म डिम्याट खाता लिने नागरिकको संख्या कुल जनसंख्याको २१ प्रतिशत पुगेको छ । २०८० फागुनसम्म ६२ लाख २४ हजार पुगेको उल्लेख छ ।

२०८० असारसम्म डिम्याट खाता खोल्नेको संख्या ५८ लाख २३ हजार रहेको थियो । २०७९ असारसम्म यस्तो संख्या ५३ लाख ४६ हजार रहेको थियो । २०८० असारसम्म करिव डिम्याट खाता खोल्नेको संख्या ८.९ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सीडीएससीका अनुसार जेठ २२ गतेसम्म मेरो सेयर प्रयोग गर्नेको संख्या ५३ लाख ३७ हजार ७२८ पुगेको छ। यीमध्ये ३५ लाख ७४ हजार ३५२ जना मेरो सेयरमा सक्रिय प्रयोगकर्ता छन्। २०८० असारसम्म सेयर प्रयोग गर्नेको संख्या करिब ४८ लाख २६ हजार मात्र थियो।

२०८० फागुनसम्म ५२ लाख ६४ हजारले मेरो सेयर खाता खोलेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । उक्त संख्या कुल जनसंख्याको करिब १८.०३ प्रतिशत हो ।

जेठ दोस्रो सातासम्म भने अभौतिकृत धितोपत्रको संख्या १२ अर्ब ६२ करोड २५ लाख ७१ हजार पुगेको छ । डिम्याट खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात डीपी) को संख्या १०९ वटा पुगेको छ ।

जेठ तेस्रो सातासम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएस) मा धितोपत्रको अभौतिकृत गर्ने दर्ता कम्पनीको संख्या २५१ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा २३६ रहेको थियो ।

त्यसैगरी, निक्षेप सेवा प्रदान गर्न केन्द्रीय निक्षेप कम्पनी (सिडिएससी) को सदस्यता प्राप्त गर्ने निक्षेप सदस्यको संख्या १०९ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा ८२ रहेको थियो ।

कसरी खोल्ने ?

डिम्याट विभिन्न बैंक वा तिनका सहायक कम्पनीमा खोल्न सकिन्छ । त्यस्तै कतिपय ब्रोकर कम्पनीले पनि खाता खोलिदिने गरेका छन् । यस्तो खाता खोल्नेको संख्या १०९ पुगेको छ । यिनै १०९ संस्थामध्ये कुनैमा डिम्याट खाता खोल्न सकिन्छ ।

यिनै संस्थामा आईपीओ भर्नका लागि चाहिने अनलाइन प्रणाली ‘मेरो सेयर’को युजरनेम र पासवर्ड लिन सकिन्छ । त्यो युजरनेम र पासवर्ड प्रयोग गरी अनलाइन प्रणाली मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ । साथै आफ्नो खातामा भएको सेयर पनि हेर्न र बेचिसकेपछि ट्रान्सफर गर्न सकिन्छ । डिम्याट खाता नभएसम्म आईपीओ पनि भर्न पाइँदैन भने दोस्रो बजारबाट पनि सेयर किनबेच गर्न पाइँदैन । एउटा व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउने प्रावधान छ । मेरो सेयरबाट साधारण सेयर (आईपीओ) भर्न र दोस्रो बजारमा बिक्री गरिएको सेयर ट्रान्सफर गर्न सकिन्छ।

डिम्याट खाता २०७२ माघ २ बाट पूर्ण रूपमा सञ्चालनमा आएको हो । भौतिक अर्थात कागजी सेयर प्रमाणपत्रलाई अभौतिक अर्थात अनलाइन प्रणालीको व्यवस्था हुनु नै डिम्याट हुनु हो । सेयर जम्मा गर्ने अनलाइन प्रणाली नै डिम्याट खाता हो । डिम्याट खाताको व्यवस्था भएपछि कागजी प्रमाणपत्र छपाई तथा कारोबार हटेको छ । डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न र दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्।

लगानीकर्ताको सहभागिता बढ्दै

अर्थ मन्त्रालयले गत जेठ १३ गते सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार पनि नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । आर्थिक सर्वेक्षणका अनुसार प्राथमिक बजारमार्फत भएको पुँजी परिचालनमा समेत बढोत्तरी हुँदै गएको छ । आर्थिक क्रियाकलापमा आएको संकुचनका कारण धितोपत्रको दोस्रो बजार कारोबारमा केही कमी आएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजार मार्फत रू.३३ अर्ब ८३ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.५१ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा रू.४३ अर्ब ६६ करोड रकम बराबरको पुँजी परिचालन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म साधारण सेयरको प्राथमिक निष्काशन (आइपीओ) ९ अर्ब ८० करोडको जारी भएको मन्त्रालयले जनाएको छ ।

हकप्रद शेयर निष्काशनमार्फत रू.५ अर्ब ४५ करोड, थप निष्काशन मार्फत रू.३ करोड, ऋणपत्र मार्फत रू.१५ अर्ब ४ करोड र म्युचुअल फण्ड मार्फत रू.३ अर्ब ५० करोडको पुँजी परिचालन भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्राइभेट इक्वीटी तथा भेञ्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोष पनि नेपालको पुँजी बजारको दायरामा आउन थालेकाले त्यसले पुँजी बजारमा नयाँ आयाम थपिएको मन्त्रालयले जनाएको छ ।

बागमतीमा सबैभन्दा धेरै

आर्थिक सवेक्षणको तथ्यांकअनुसार प्रदेशगत रूपमा डिम्याट खाताको आधारमा लगानीकर्ताको सहभागीताको स्थितिलाई हेर्दा चालु आर्थिक वर्षको फागुनसम्म सबैभन्दा बढी लगानीकर्ता बागमतीमा ३७.२२ प्रतिशत र सबैभन्दा कम कर्णालीमा २.४३ प्रतिशत रहेको छ । कर्णाली प्रदेशमा १ लाख ५१ हजार डिम्याट खाता मात्र रहेकोमा बागमतीमा २३ लाख १२ हजारभन्दा बढीको संख्यामा डिम्याट खाता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएस) मा अभौतिकृत धितोपत्रको संख्या ९ अर्ब ९१ करोड ९० लाख रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म यस्तो संख्या १२ अर्ब १४ करोड ३७ लाख पुगेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएस) मा धितोपत्रको अभौतिकृत गर्ने दर्ता कम्पनीको संख्या २५३ पुगेको मन्त्रालयको भनाइ छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा २३६ रहेको थियो ।

त्यसैगरी, निक्षेप सेवा प्रदान गर्न चालु आर्थिक वर्षको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएससी) को सदस्यता प्राप्त गर्ने निक्षेप सदस्यको संख्या ११२ पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिमा ८२ रहेको थियो ।