१० श्रावण २०८३, आइतबार

झिनो अंकले बढ्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

झिनो अंकले बढ्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार



काठमाडौँ । बुधबार सेयर बजार झिनो अंकले बढेको छ । मंगलबार दुई पटक सर्किट लागेको बजार आज सुस्ताएको हो ।
कांग्रेस-एमालेको सहकार्यमा सरकार बन्ने भएपछि मंगलबार सेयर बजारमा उछाल आएको थियो । उक्त समीकरण बनेपछि अर्थमन्त्रीमा विष्णु पौडेल बन्ने चर्चा चुलिएसँगै लगानीकर्ता उत्साहित भएका थिए । तर तत्काल सरकार नबन्ने भएसँग बजार सुस्ताएको हो।

बुधबार नेप्से परिसूचक ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १३ उपसूचकमध्ये ५ सूचक मात्र बढेका छन् । बाँकी ८ सूचकमा भने रातो पोतिएको छ ।

यसदिन लगानीकर्ता फाइनान्स र व्यापार समूहको झुम्मिएका छन् । बुधबार फाइनान्स समूहको सेयर मूल्य ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले बढेको छ ।

यो दिन मन्जुश्री फाइनान्सको सबैभन्दा धेरै सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड १ लाख बढीको सेयर कारोबार भयो । साथै आज आईसीएफसी फाइनान्सको १७ करोड ४९ लाखको,रिलायन्स फायनान्सको १६ करोड ५२ लाख र सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,आईसीएफसी फाइनान्स,गुहेश्वरी मर्चेन्ट र मन्जुश्री फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज चिरख्वा हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.७० प्रतिशतले घट्यो । हिमालयन उर्जाको सेयरमूल्य आज ४.२७ प्रतिशत र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.९६ प्रतिशतले घट्यो ।