११ श्रावण २०८३, सोमबार

प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे ।

प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र परेको हो ।

१० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा १५७ मत पाएका थिए ।

तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परेका हुन्। उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।