११ श्रावण २०८३, सोमबार

बैंकरहरुसँगको भेटमा नवनियुक्त अर्थमन्त्री पौडेलले के भने ?



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र चलायमान बनाउन सरोकारवाला एकजुट हुनुपर्ने बताए ।

उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सरोकारवालाहरु एकजुट भएर अर्थतन्त्र चलायमान बनाउने तर्फ सबै अग्रसर हुनु पर्नेमाज जोड दिएका छन् ।

मंगलबार नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँगको भेटमा नवनियुक्त अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । बैंकरसँगका अध्यक्ष सुनिल केसीसहित पदाधिकारीले अर्थमन्त्री पौडेललाई भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेको हो ।

सोही अवसरमा पौडेले बैंक तथा वित्तीय संस्थाहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै आर्थिक क्रियाकलाप बढाउन गम्भिर भएर लाग्नुपर्ने बताए । उद्यमी तथा व्यवसायीहरुको घट्दो आत्मविश्वासलाई उच्च बनाएर आर्थिक गतिविधि बढाउन केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।

‘आम मानिस तथा उद्यमी, व्यवसायीमा आत्वविश्सा घट्दै गएको छ, मुख्यतःबर्तमान अर्थतन्त्रको प्रमूख चुनौतीको रुपमा देखिएको छ। उनीहरुको आत्मविश्वासव उच्च बनाउँदै आर्थिक क्रियाकलापलाई बढाउने तर्फ सबै सरोकारवाला गम्भिर भएर लाग्नु पर्छ’, मन्त्री पौडेलले भने ।

सरकार सबैको अभिभावक भएको कारण सबैको समस्यालाई आत्मसाथ गर्दै समस्याको समाधानको लागि अग्रसर रहेको विश्वास दिलाए । बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध रहेको पौडेलको भनाई छ। साथै, जनताबाट उठाएको पैसा नै बैंकले लगानी गर्ने भएको कारण समाजमा बढ्दै गईरहेको ऋण लिएर तिर्दिन भन्ने प्रबृत्ति अन्त्य गर्न राज्य तत्पर रहेको बताए । उनले भने,‘बर्तमान सरकार स्थायी सरकारको रुपमा लामो समयसम्म रहन्छ । अर्थतन्त्रमा देखिएको राजनैतिक अस्थिरताको समस्या अन्त्य हुन गई अर्थतन्त्र चलायमान हुन्छ । सबैलाई आशाबादी हुन आग्रह गर्दछु ।’

सोही अवसरमा बैंकर्स संघका अध्यक्ष केसीले मुलुकको आर्थिक बृद्धिमा बैंकिङ्ग क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले अर्थमन्त्री पौडेल समक्ष पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराए ।

उनले कर्जा प्रवाहमा संकुचन आउँदा बजार चलायमान हुन नसकेको बताए । अर्थतन्त्र चलायमान बनाउन सरकार अग्रसर हुनुपर्ने उनको भनाई थियो । उनले भने,‘बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो क्रममा रहेको छ । यस्तो परिप्रेक्षमा पनि कर्जा बिस्तारमा देखिएको संकुचनले अपेक्षाकृत रुपमा बजार चलायमान हुन सकेको छैन। अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरकार अग्रसर हुनुपर्छ ।’

सोही क्रममा बैंकहरहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणा लगायतका बारेमा अवगत गराएका थिए । यस्तै, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, बैंकको घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा जस्ता विषयमा पनि जानकारी गराइएको थियो । उनीहरुले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको बताएका थिए ।