११ श्रावण २०८३, सोमबार

संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन सकेन: परिसंघ, नीतिको स्थीरता र कार्यान्वयनमा केन्द्रित हुन्छौंः अर्थमन्त्री



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले शिथिल अर्थतन्त्र चलायमान बनाउन निर्जी क्षेत्रको मनोबल बढाउनुपर्ने बताएको छ ।

बिहीबािर नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँगको भेटघाटमा परिसंघले यस्तो बताएको हो । सिएनआईले आर्थिक अवस्था र सुधारका विषयमा अर्थमन्त्री पौडेल समक्ष आफ्ना सुझाव दिएको छ । परिसंघको तर्फबाट अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए ।

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको अग्रवालले बताए । हाल उद्योगहरु ३०/४० प्रतिशत क्षमतामा संचालन भईरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाई थियो । उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको भन्दै चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए ।

परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

सो अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको बताए । राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरे ।

‘प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो’उनले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’

उनले नीतिको स्थीरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए । उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने समेत बताए ।