८ श्रावण २०८३, शुक्रबार

निर्जीवन बीमा: नाफामा ‘नम्बर वान’ नेपाल इन्स्योरेन्स, आइजीआई र शिखरसहित ४ वटाको चमत्कारिक ग्रोथ



काठमाडौं । एक वर्षमा ४१ अर्ब बराबरको व्यापार गरेका निर्जीवन बीमा कम्पनीहरुले नाफा भने ५२ प्रतिशत बढाएका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीहरुको व्यापार सामान्य बढेता पनि नाफा भने उल्लेख्य बढाएका छन् ।

हाल संचालनमा रहेका १४ वटा ठुला निर्जीवन बीमा कम्पनीहरुले एकै वर्ष ७ अर्ब ४३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा ५२.८ प्रतिशत बढी हो ।

अघिल्लो आवमा ती कम्पनीहरुले ४ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवमा राष्ट्रिय बीमा र नेको इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । यी बाहेका अन्य कम्पनीहरुको नाफामा उल्लेख्य बढेको छ । व्यावासयमा खास सुधार देखिएको छैन । तर, नाफामा बढाएका छन् ।

सर्वाधिक नाफा कमाउनेको पहिलो नम्बरमा नेपाल इन्स्योरेन्स, पच्छ्याउँदै सिद्धार्थ र नेको

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा नेपाल इन्स्योरेन्स छ । गत वर्ष कम्पनी सर्वाधिक ७० करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नै निर्जीवन बीमा कम्पनीहरु मध्यको सबैभन्दा धेरै हो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ८७.७८ प्रतिशत बढेको हो ।

सर्वाधिक नाफा कमाउनको दोस्रो सूचीमा भने सिद्धार्थ प्रिमियर रहेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ८२.५१ प्रतिशत बढाएर ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको नेको इन्स्योरेन्सले ६८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो यो नाफा अघिल्लो आवको तुलनामा २.७३ प्रतिशत कमी हो ।

नाफाकै आधारमा चौंथो सूचीमा भने हिमालयन एभरेष्ट छ । कम्पनीले अघिल्लो आवको तुलनामा नाफा ५०.०८ प्रतिशत बढाएर ६६ करोड ७९ लाख रुपैयाँ कमाएको छ। यता, पाँचौ स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले पनि ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १८.८ प्रतिशत कमी हो ।

आइजीआई, शिखर, प्रभु र युनाईटेड अजोडको नाफामा चमत्कारिक सुधार

गत आवमा चार वटा कम्पनीको नाफा शतप्रतिशत बढेको छ । अघिल्लो आवको तुलनामा सबैभन्दा धेरै नाफा आइजीआई प्रुडेन्सियलको १५६.६७ प्रतिशत बढेको छ । गत आवमा आइजीआईले ६१ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो २३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा वृद्धिदरको आधारमा दोस्रो सूचीमा भने शिखर इन्स्योरेन्स छ । व्यापारमा नम्बर वान्को ताज कायमै राखेको शिखरले गत आवमा नाफा १२६.८७ प्रतिशत बढाएको छ । गत वर्ष शिखरले ५१ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै, प्रभु इन्स्योरेन्सले पनि ११८.१३ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आवमा २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको प्रभुले गत आवमा आइपुग्दा भने ४९ करोड ८ लाख रुपैयाँ कमाएको छ। यता, युनाईटेड अजोज इन्स्योरेन्स कम्पनीको नाफा पनि १०८.११ प्रतिशत बढेर ३८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यस्तै, गत आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ८३.९४ प्रतिशत, ओरियण्टलले ८३.३६ प्रतिशत नाफा बढाएका छन् । गत वर्ष यी दुई कम्पनीले क्रमशः ६० करोड ८९ लाख र ५९ करोड ६१ लाख रुपैयाँ कमाएका हुन् ।

त्यसैगरि गत आवमा नेशनल इन्स्योरेन्सको नाफा ५१.९७ प्रतिशत, एनएलजीको २१.७७ प्रतिशत र सानिमा जिआईसीको २०.९२ प्रतिशत वृद्धि भएको छ।

कुन कम्पनीको नाफा कति ?

स्रोतः सम्वन्धित कम्पनीले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय रिपोर्ट, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्