सेयर बजारको ‘हट केक’ : यी हुन् एक सातामै २७ प्रतिशतसम्म मूल्य बढेका कम्पनी
सेयर बजारको ‘हट केक’ : यी हुन् एक सातामै २७ प्रतिशतसम्म मूल्य बढेका कम्पनी
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बजार उकालो लागेसँगै विभिन्न कम्पनीको पनि सेयर मूल्य पनि महंगीन थालेको छ । एक सातामा सेयर बजार २३४.४३ अंक अर्थात् ८.४७ प्रतिशतले बढेको छ । यो बीचमा विभिन्न कम्पनीको सेयरमूल्य २७ प्रतिशतसम्म बढेको छ ।
हामीले साताभर चर्चामा रहेका विभिन्न १० कम्पनीको सेयर मूल्यको बारेमा कुरा गर्दै छौं । जसको मूल्य २७ प्रतिशतसम्म वृद्धि भएको छ ।
यस साता चर्चामा रहेको हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेस्टमेन्ट कम्पनीको सेयर मूल्य एक हप्तामै २७.०७ प्रतिशतले बढेको छ । अघिल्लो बिहीबारसम्म २७१.१ रुपैयाँ रहेको एचआईडीसिएलको मूल्य आज (बिहीबार) ३४४.५ रुपैयाँ पुगेको छ ।
लिबर्टी इनर्जीको सेयर मूल्य पनि एक सातामै २६.३६ प्रतिशतले बढेको छ । अघिल्लो बिहीबार २३९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आज ३०२ रुपैयाँ पुगेको छ ।
कुमारी बैंकको सेयर मूल्य पनि एक सातामा २४.२७ प्रतिशतले बढेर २५६ रुपैयाँ पुगेको छ । गत साता यसको मूल्य २०६ रुपैयाँ मात्र रहेको थियो ।
पछिल्लो समय चर्चामा रहेको अर्को स्टक हो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक । पछिल्लो एक सातामा बैंकका लगानीकर्ताको नाफा २१.०६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो सातासम्म २२५.५ रुपैयाँ रहेको बैंकको सेयरमूल्य यस साता २७३ रुपैयाँ पुगेको छ ।
ग्लोबल आईएमई बैंकको सेयर मूल्य एक सातामा १९.६६ प्रतिशतले बढेर २८३ रुपैयाँ पुगेको छ । अघिल्लो बिहीबार बैंकको सेयर मूल्य २३६.५ रुपैयाँ रहेको थियो ।
एनएमबि बैंकको सेयर मूल्य २३६.९ बाट बढेर २८१.२ रुपैयाँ पुगेको छ । एक साताको बैंकको सेयर मूल्य १८.७० प्रतिशतले बढेको हो ।
तारा गाउँ रेजेन्सी होटलको सेयर मूल्य १४.१४ प्रतिशतले बढेर १३०० रुपैयाँ पुगेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को १३.४६ प्रतिशतले बढेर ३४८.९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बुटवल पावर कम्पनी र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य क्रमशः १२.०३ र ११.३० प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य ४३४ ले बढेर ४८६.२ रुपैयाँ पुगेको छ भने राष्ट्रिय बीमा कम्पनीको १६ हजार ७०३ रुपैयाँबाट बढेर १८ हजार ५९० रुपैयाँ पुगेको छ ।













