१० श्रावण २०८३, आइतबार

सरकार गठन भएको एक महिनामै अर्थतन्त्रले लय समाएको छ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारको निराशा चिर्ने र विश्वास जगाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘हामीले हेर्यौं उद्यमीमा जाऊ, व्यवसायीमा जाऊ त्यहाँ निराशा छ । युवायुवतीहरूमा जाऊ त्यहाँ निराशा छ । किसान, मजदुर, विभिन्न पेसा कर्मीमा पनि निराशा छ । । यो सबै प्रकारको निराशा चिर्ने र सबैमा आशा र विश्वास जगाउने यो सरकारको पहिलो प्राथमिकता हो’ उनले भने ।

सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाई छ । उनले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताए ।

‘सरकारी वित्त दबाबको अवस्थामा छ । भुक्तानीका लागि लाइन लाग्ने धेरै छन् । राज्यले भुक्तानी गर्नुपर्ने तर बजेटमा नसमेटिएका भुक्तानीका दायित्वहरू एक पछि अर्को गरेर भइरहेका देखिरहेको छु यस खालको समस्या पनि हामीसँग छ’ उनले भने ।

उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सपथग्रहण गरेसँगै एक महिनाको समय व्यतित भएको छ एक महिनाको अवधिमै सकारात्मक संकेतहरू देखिएका छन् । राजश्व परिचालनमा सकारात्मक संकेत देखिएका छन् । गत आर्थिक वर्षको साउनमा संकलन भएको राजश्वको तुलनामा यस वर्षको साउनमा २० प्रतिशतले बढेको छ । यद्यपि राजश्वको लक्ष्य पुरा गर्नको निमित्त हामीले ३० प्रतिशत पुर्याउनुपर्ने छ । पुँजीगत खर्च गत वर्ष साउनको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ । रियल स्टेट, घरजग्गा जस्ता क्षेत्रमा पनि केही सुधारका संकेत देखिएका छन् । पुँजीबजार उत्साहित भरहेको छ । मौद्रिक नीतिले जुन प्रकारका कार्यक्रमहरू अघि सार्यो त्यसको प्रभाव अर्थतन्त्रमा परिरहेका छन्’ उनले भने ।

भुक्तानी सन्तुलनका दृष्टिकोणले अनुकूल अवस्थामा रहेको उनले जानकारी दिए । विप्रेषणको अवस्था तुलनात्मक रूपले सकारात्मक रहेको उनले बताए ।

उनले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताए । उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राखे । उनले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताए । अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हासियार हुन आवश्यक देखिएको उल्लेख गरे ।

सरकार कानुन निर्माणको विषयमा समेत होसियार रहेको उनले बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताए । अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताए ।