१० श्रावण २०८३, आइतबार

के नेप्सेको घट्ने रफ्तार रोकिएको हो ?



काठमाडौँ । सोमबार बजार खुलेदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्ने प्रयत्नमा देखिन्छ । करीब एक घण्टाको बीचमा नेप्सेले दुई पल्ट उच्च विन्दु बनाउन खोजेको छ । आइतबार २६९६ अंकमा बन्द भएको नेप्से सोमबार २७१७ अंकसम्म पुगेर बढ्नका निम्ति प्रयास गरिरहेको छ ।

यस दिन नेप्सेले २६७९ भन्दा तलसम्म झरेर टेवा पाएको छ । यो विन्दु भनेको २०७७ फागुन १० मा नेप्सेले तत्कालिन बूलका निम्ति परीक्षण गरेको पहिलो प्रतिरोध स्तर नजिक थियो । त्यस बेला नेप्से १८७४ बाट उकालो लागेपछि एकै पटक २६७६ अंकमा पुगेर रोकिएको थियो ।

यसरी ४२.८ प्रतिशतको बृद्धिपश्चात नेप्सेले ‘ट्रीपल टप’ बनायो र २०७८ भदौ २ मा कीर्तिमानी उचाई हासिल गर्यो । यस प्रकारको नेप्सेको रेखाचित्र विश्लेषणले सोमबारको प्रारम्भिक चरणमा बनेको न्यूनतम विन्दु नै यस पटकको ‘डेड बुल’को टेवा बन्न सक्ने संकेत गरेको छ ।

साधारण तया अघिल्ला पल्टहरुमा निकै बलियो देखिएका प्रतिरोध विन्दुहरु यस पल्टका लागि टेवाका रुपमा देखिने गरेका छन् । यसका लागि हामीले ‘इन्ट्रा–डे’ ब्यापारको आँकडा लिइरहेका छौँ ।

साढे ३ वर्ष अघि देखिएको बलियो प्रतिरोध विन्दु नै यस प्लटको टेवा बिन्दुमा बदलिन सक्छ भन्ने आधार अन्य गणनाबाट पनि देखिन्छ । त्यस बेला नेप्सेले ‘ट्रीपल टप’ अर्थात् तीन वटा सिँढीजस्ता उच्चतम विन्दुहरु पार गरेपछि चौँथो पटकमा कीर्तिमानी उचाई चुमेको थियो ।

नेपाली सेयर बजारको इतिहासमै पहिलो पल्ट नेप्सेले विगत २ वर्षमा प्रभावकारी ‘साइडवेज मुभमेण्ट’ प्रदर्शन गरेको छ ।

ती तीन वटा उच्चतम विन्दुबाट टेवा पाउन नेप्से परिसूचक हरेक पल्ट ९ देखि १० प्रतिशतको ‘करेक्सन’ भएको थियो । सुरुमा ९.८२, दोस्रो पल्ट ९.४२ र तेस्रो पल्ट ८.८४ प्रतिशत घटेर नेप्सेले पुनः जम्प गरेको थियो । तर यस पल्ट उक्त घट्ने रफ्तार बढेको देखिएको छ ।

यही भदौ २ मा नेप्से परिसूचक ३ हजार ४८ अंकसम्म पुगेको थियो । तर सोमबार त्यहाँबाट २६७९ अंकमा झर्दा नेप्सेमा १२.१ प्रतिशतको ‘करेक्सन’ देखिएको छ । यसलाई बन्द मूल्यका आधारमा हेर्ने हो भने पनि गत साउन ३१ मा ३ हजार अंकमा बन्द भएपछि आइतबार २६९६ अंकसम्म झर्दा नेप्से १०.१३ प्रतिशत घटिसकेको छ ।

यी आँकडाहरुले अघिल्लो बुलरनका संकेतसँग तादात्म्य मिलाएको देखिन्छ । जस कारण यस पल्टका लागि पहिलो ‘टप’बाट झर्ने सिलसिला यहीँ बन्द हुनसक्ने संकेत मिलेको छ । यहाँबाट बजार उठ्यो भने ३२०० देखि ३२३० अंकमा पहिलो प्रतिरोध सामना गर्न सक्ने संभावना देखिएको छ । जुन, हालसम्मको ‘इन्ट्रा–डे’ ब्यापारमा सबैभन्दा उँचो विन्दु अर्थात् ३२२७ अंकको छेउछाउ हुनसक्छ ।

भलै यो बुलरन सकिँदासम्म नेप्सेको समष्टिगत सूचक ५ हजार अंकभन्दा माथि माथि जाने संभावना बलियो देखिन्छ, तर त्यसका लागि तेस्रो ‘टप’ले सर्वाधिक ‘पम्प’ गर्नसक्ने संभावना छ । यसअघिको प्रबृत्ती जस्ताको त्यस्तै दोहोरियो भने यो विश्लेषणले काम गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्