सुपर मादी हाइड्रोपावर घोषणा गर्यो लाभांश, पारित गर्न डाक्यो साधारण सभा
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्षका लागि ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ५ गते होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले ताप्लेजुङ जिल्लास्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसका प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।













