युनिलिभर नेपालले घोषणा गर्यो हालसम्मकै उच्च लाभांश, यो वर्ष कति दिने भयो ?
काठमाडौं । युनिलिभर नेपालले यो वर्षका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनी संचालक समितिको असोज ९ गते बसेको बैठकले सेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ दरले नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश हालसम्मकै उच्च हो । गत वर्ष पनि कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि वितरण हुनेछ । सोही लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारण सभा पनि बोलाएको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोही अनुसार असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













