यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सिटिजन्स बैंक र युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज (असोज २३, गते बुधबार अन्तिम दिन रहेको छ । सिटिजन्स बैंकले असोज २९ गते र युनिलिभर नेपालले असोज २८ गतेलाई बुक क्लोज मिति तोकेको छ । आज(असोज २३ गते) कारोबार भएपछि बजार अब दशैंबिदापछि मात्र खुल्छ । त्यसैले, यी दुवै कम्पनीको लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी बनिसक्नु पर्नेछ ।
सिटिजन्स बैंकले आगामी कात्तिक १२ गते काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसनमा आफ्नो १८औं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण अजेण्डा पारित गर्दैछ । यो पटक बैंकले मर्जर र एक्वीजिसनको प्रस्तावलाई समेत पारित गर्ने योजना बनाएको छ।
त्यस्तै, युनिलिभर नेपालले भने आगामी कात्तिक १२ गते नै काठमाडौंको बानेश्वरस्थित द एभरेष्ट होटलमा ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।













