१५ प्रतिशत लाभांश पारित गर्न कहिले बस्दैछ स्वावलम्बन लघुवित्तको साधारण सभा ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१५ प्रतिशत लाभांश पारित गर्न कहिले बस्दैछ स्वावलम्बन लघुवित्तको साधारण सभा ?



काठमाडौं । लाभांश पारित गर्नका लागि स्वावलम्बन लघुवित्तले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक ३० गते आफ्नो २३ औँ वार्षिक साधारणसभा डाकेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो । सोही प्रस्तावलाई सभाबाट अनुमोदन गर्नेछ ।

बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ । चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्थासँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ । यता, गत आवको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डामा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्