विद्युत बिक्री आम्दानी घट्दा पनि कसरी बढ्यो सुपर मादी हाइड्रोपावरको नाफा ?
काठमाडौं । सुपर मादी हाइड्रोपावरको नाफा ५० प्रतिशत वृद्धि भएको छ । तीन महिनामै कम्पनीले १६ करोड बढी नाफा कमाएको छ ।
कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ५०.८४ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले १० करोड ६९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफा वृद्धि भएता पनि कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भने केही गिरावट आएको छ । गत आवमा कम्पनीले ४३ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने २.५७ प्रतिशत घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ह्वात्तै घटेको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीको यस्तो खर्च २३ करोड १३ लाख बढी थियो । तर, चालु आवको सोही अवधिमा भने २९.३२ प्रतिशत घटेर १६ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यसरी वित्तीय खर्च घटेसँगै खुद नाफा बढेको हो ।
हाल कम्पनीको प्रतिसेय आम्दानी (इपिएस) ३०.७२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ४३४.६६ रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ३० करोड ५ लाख रुपैयाँ राखेको छ ।













