अपर तामाकोशी प्रकरण : करोडौंको सामग्री चोरी, कवाडीमा काम गर्ने पक्राउ
काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । पटक पटक गरी करोडौंको सामग्री चोरी भएको अपर तामाकोशी हाइड्रोपावर कर्मचारी यूनियनले जनाएको छ ।
गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको जनाइएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय रविकृष्ण महतो रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ पर्ने ती व्यक्ति कवाडीको काम गर्दै आइरहेको कार्यालयका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । महतो केही दिन अघि नै पक्राउ गरेका हुन् । उनका साथबाट सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
कवाडीका सामग्री चोरी भएको खबर थाहा पाउने बित्तिकै कम्पनीका प्रतिनिधिहरूले प्रहरीमा जाहेरी दिएका थिए। यो घटना कात्तिक १६ गते घटेको हो ।
कर्मचारी युनियनका अनुसार पटक पटक गरी करोडौं मूल्यका सामग्री हराइसके । युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठका अनुसार खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको छ ।
तर हालसम्म कवाडी सामग्री चोरी भएको बाहेक अन्य घटना अनुसन्धानमा आउन सकेको देखिँदैन । तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद देखिएको छ ।













