गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्ने बाटो खुला - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्ने बाटो खुला



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट(आठौँ संशोधन) निर्देशिका २०८१ जारी गरेको छ । बोर्डले शुक्रवार उक्त निर्देशिका जारी गरिएको हो। योसँगै सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुला भएको छ ।

निर्देशिकामा संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेर गैर आवासीय नेपालीले सेयर बजारमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन गर्नुअघि सेयर बोर्डमा दर्ता गर्नुपर्नेछ । बोर्डको स्वीकृतिपछि कम्तीमा चारदेखि बढीमा १५ दिनसम्मका लागि गैर आवासीय नेपालीका लागि आईपीओ खुलाउन सक्नेछन् ।

यसरी आईपीओमार्फत् खरिदबिक्री हुनेसेयर कम्तीमा एक हजार कित्ता कारोबार हुनुपर्ने, गैर आवासीय नेपालीबिच मात्रै कारोबार हुनसक्ने, आईपीओ पाएको एक वर्षसम्म खरिदबिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । हकप्रद सेयरको हक हस्तान्तरण समेत गैर आवासीय नेपालीका बीचमा मात्रै गर्न सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीले निष्कासन गरेको सेयरमा प्रिमियम थप गरी निष्कासन गर्न सक्ने छैन। सेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणाङ्कमा हुने गरी व्यवस्था कम्पनीले गर्नु पर्नेछ। निष्कासित सेयरमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्कासन प्रक्रिया रद्द गरी सम्बन्धित आवेदकको रकम फुकुवा गर्नु पर्नेछ। ५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न चाहेमा खरिद गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्