‘गरिमा समृद्धि योजना’ले औसतमा वार्षिक २२ प्रतिशतभन्दा माथिको प्रतिफल दिन्छ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘गरिमा समृद्धि योजना’ले औसतमा वार्षिक २२ प्रतिशतभन्दा माथिको प्रतिफल दिन्छ



निर्मल भट्टराई, सीईओ, गरिमा क्यापिटल लि.

विकास बैंकहरुमध्ये अव्वल स्थानमा रहेको गरिमा विकास बैंकको सहायक कम्पनी गरिमाा क्यापिटलले पहिलोपटक म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले आज आइतबारदेखी प्रति इकाई १० रुपैयाँको १ अर्वको फण्ड विक्री खुला गरेको छ । २०७२ सालमा स्थापित यस क्यापिटल केसीएल अस्ट्युट क्यापिटललाई गरिमा विकास बैंकले ५१ प्रतिशत सेयर किनेर गरिमा क्यापिटल बनाएको हो । तत्कालिन केसीएल अस्ट्युट क्यापिटलमै कामु सिईओ रहेका भट्टराई हालसम्म कम्पनीमा नेतृत्व दिइरहेका छन् ।

सन २०१३ मै सिए सकेर सिए फर्ममासमेत काम गरेका भट्टराई २०७९ भदौ १ गतेदेखी गरिमा क्यापिटललको सिईओमा नियुक्त भएका हुन् । हाल कम्पनीले निष्काशन गरेको फण्डको विक्रीको लागी व्यस्त रहेका भट्टराईसंग अर्थपथले गरेको कुराकानीको सारसंक्षेपः–

अहिले सेयर बजार घटेको र लामो समयदेखि बढ्न नसकेको अवस्थामा म्युचुहल फण्ड ल्याउनु कत्तिको उचित हो ?

म्युचुअल फण्डको इकाई धारकहरुका निम्ति यो सर्वोत्कृष्ट समय हो । हामीले म्युचुअल फण्डबाट प्राप्त गर्ने कोषको रकम जाने भनेको सेयर बजारमा नै हो । सेयर बजार सूचक माथि गएको अवस्था लगानी गर्दा जोखिमपूर्ण हुन्छ । तर अहिलेको अवस्थामा बजार सूचक न्यून विन्दुमा छ ।

यो बेला सही निर्णय लिएर लगानी गर्न सकियो भने भविष्यमा राम्रो नाफा आर्जन गर्न सकिन्छ । त्यसले अन्ततः सबै लगानीकर्तालाई फाइदा नै गर्छ । त्यसैले इकाई धारक लगानीकर्ताका लागि र स्वयम् म्युचुअल फण्डका लागि पनि यो सबैभन्दा उपयुक्त समय हो ।

अहिलेको अवस्थामा तपाइँहरुको म्युचुअल फण्ड कति प्रतिशत विक्री हुन्छ भन्ने अनुमान गर्नुभएको छ ?

अहिले सेयर बजार सूचक तुलनात्मक रुपमा ‘तल’ छ । यो हुनु भनेको लगानीकर्ताका लागि अवसर हो । त्यसमा पनि म्युचुअल फण्ड भनेको दोस्रो बजारका विषयमा धेरै जानकारी नभएका सर्वसाधारणको निम्ति ल्याइएको हुन्छ । उनीहरुले सेयर बजारमा प्रवेश गर्नका लागि म्युचुअल फण्ड एक उपयुक्त विकल्प हुने छ ।

अर्कातिर सामूहिक लगानी कोषहरुले ठूलो आकारमा पूँजी एकत्रित गर्न खोजेको हुन्छ । त्यसो हुँदा यसले तरलतालाई लगानीमा रुपान्तरण गर्ने मौका दिन्छ । मानिसहरुले आफूसँग भएको स–सानो रकम लगानी गर्न पाएको छैन भने त्यस्तो पैसा लगानी गर्न पाउँछ ।

व्यक्तिहरुले बैंकमा निक्षेप राखिरहेको वा अन्यत्र यत्तिकै राखेको पैसाले इकाई खरीद गर्न सक्छन् । नेपालमा संस्थागत लगानीकर्ताको पनि राम्रै सहायता देखिन्छ । त्यसले गर्दा संस्थागत लगानीकर्ताले ‘ट्रेजरी’ व्यवस्थापन कसरी गरेका छन् भन्ने कुराले पनि भर पर्छ ।

तपाईंहरूले आफ्नो म्युचुअल फण्डका सन्दर्भमा चाहीँ कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

एकदम राम्रो छ । बजारमा हामी जति पनि गइरहेका छौँ, सबैबाट राम्रो प्रतिक्रिया पाएका छौँ । भर्खरै आएका म्युचुअल फण्डलाई हेर्दा पनि सर्वसाधारणको राम्रो सहभागिता देखिएको छ । त्यसबाट पनि छनक पाइरहेका छौँ ।
आईपीओ नआएको पनि धेरै भयो । त्यसले गर्दा पनि लगानीका लागि राम्रो अवसरको रूपमा ग्रहण गर्नेमा विश्वस्त छौँ । संस्थागत रूपमा पनि एकदम राम्रो प्रतिक्रिया आइरहेको छ । त्यो हुँदा बेच्न सक्छौँ जस्तो लाग्छ ।

म्युचुअल फण्डको प्रतिफल न्यून भएको अवस्था छ । तपाइँहरूको फण्डमा किन लगानी गर्ने ?

अहिले हामीसँग जति पनि म्युचुअल फण्ड स्किम छन्, त्यो हेर्दा सबै फन्डको प्रतिफल न्यून छैन । कुनैको राम्रो छ, कुनैको प्रदर्शन नराम्रो छ । समग्रमा हेर्दा पनि साढे १४ कम्पाउण्ड वार्षिक वृद्धि दर कायम गर्न म्युचुअल फण्डले सकेका छन् ।
गरिमा क्यापिटलको म्युचुअल फण्ड आइसकेपछि यसमा लगानी गर्ने फण्ड व्यवस्थापक कस्ता छन् ? त्यसले कसरी प्रतिफल दिन सक्छन् ? भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । एउटा म्युचुअल फण्ड आफैँमा पैसालाई जोड्ने पुल हो ।

सबै म्युचुअल फण्डको प्रतिफल नराम्रो होइन । केही स्किमहरूको प्रतिफल नराम्रो होला तर ती सबैलाई औसतमा राख्ने हो भने राम्रो छ । वार्षिक रूपमा हेर्ने हो भने १८–२० प्रतिशत प्रतिफल दिन सकिन्छ ।

गरिमा क्यापिटलले अहिले पनि १ अर्बको पोर्टफोलियो व्यवस्थापन गर्छौं । त्यसमा हामीले लगानीकर्तालाई दिएको प्रतिफलको आधारमा हेर्दा यो म्युचुअल फण्डमा पनि धेरै रिटर्न दिन सक्छौँ ।

यो म्युचुअल फण्डको प्रतिफल पाउने आधार चाहिँ के हो ? लगानीकर्ता कसरी कसरी विश्वस्त पार्नुहुन्छ ?

स्वभावले नै मुच्युअल फण्डमा आक्रामक लगानी हुँदैन । यसमा व्यवस्थापन गरेर दिर्घकालिन लगानी हुन्छ । लगानीको प्रतिफललाई हेर्दा समयावधी कति छ ? लगानी कति छ ? त्यसमा भर पर्छ । म्युचुअल फण्डको सबैभन्दा ठूलो फाइदा यही हो ।
१० वर्षको लागि युनिट होल्डरहरूले नेप्सेबाट किनबेच गर्लान् । तर फण्ड व्यवस्थापकको लागि त्यो फण्ड प्रतिबद्ध हो । फण्डको साइज पनि एक अर्बको छ । समय १० वर्षको छ । फण्ड व्यवस्थापकले त्यसैगरी नै रणनिती तय गर्छन् । समयावधि पनि रहने र फण्डको साइज पनि ठूलो रहने हुँदा फण्ड व्यवस्थापन र प्रतिफलका लागि सजिलो छ ।

इकाई धनीहरूलाई कति प्रतिशतसम्म प्रतिफल दिन सकिन्छ ?

लाभांश र पुँजीगत लाभलाई लिएर प्रक्षेपण गर्न सकिन्छ । पहिलो वर्ष हामीले ८ प्रतिशत, १० प्रतिशत र १२ प्रतिशत गर्दै २० प्रतिशतसम्म हामीले लाभांश दिने प्रक्षेपण गरेका छौँ । बजारमा चल्ने बुल र बियरको चक्रलाई नै हेरेर नै गरिन्छ ।
जम्मा ११० प्रतिशत हाम्रो लाभांश पेआउट छ । जुन नगद दिन्छौँ । बाँकी १११.८ प्रतिशत सञ्चित पुँजीगत लाभ छ । अन्तिमसम्म राख्दा सो बराबर पुँजीगत लाभ लिन सकिन्छ । जम्मा लाभ २२१.०८ प्रतिशत र औसतमा २२.१८ प्रतिशत वार्षिक रूपमा प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेका छौं । यसमा खरो भएर उत्रिन्छौँ ।

यो फण्डबाट संकलित रकमको लगानी विविधीकरण कसरी गर्ने योजना छ ?

नियामकले हामीलाई कुन कुन क्षेत्रमा लगानी गर्न दिन्छ त्यसैमा गर्ने हो । अर्को भनेको हामीले इकाईधनीहरूलाई कहाँ लगानी गर्ने भनेर प्रतिबद्धता गरेका छौं त्यसको आधारमा लगानी नीति हुन्छ । सोही नीतिअनुरूप नै लगानी गर्नेछौं । बजारको अवस्था हेरेर ऋणपत्र र मुद्दती निक्षेपमा लगानी गर्छौं । सेयर बजार, ऋणपत्र र मुद्दती निक्षेपको परिधिभित्र रहेर लगानी गर्छौं ।

विकास बैंकहरू म्युचुअल फण्डमा जान डराइरहेका छन् । यसमा केही अप्ठ्यारो छ ?

जोखिम त बढी होइन । जतिपनि विकास बैंकहरू छन् उनीहरू पुँजी कम छ । बीजकोष हाल्नुपर्ने हुन्छ त्यसले तुलनात्मक रूपमा पुँजीको साइज सानो हुँदा त्यस्तो बुझिएको होला । तर मुक्तिनाथ र हामीले सुरू पनि गरेका छौं । परिक्षण गर्न बाँकी नै छ । भनाइ मात्र हो जस्तो लाग्छ ।

व्यक्तिगत लगानीकर्ताहरूलाई किन प्रोत्साहन गर्न सकिएको छैन म्युचुअल फण्डमा ? संस्थागत लगानीकर्ताकै भर कहिलेसम्म पर्नुपर्ने हो ?

अहिले मुद्दती निक्षेपमा लगभग साढे ८ प्रतिशत ब्याजदर आइरहेको ठाउँमा म्युचुअल फण्डले साढे १४ दिइराखेको अवस्था छ । यसलाई हामीले सर्वसाधारणमा पुर्याउन सकिराखेको छैन । हाम्रै कमजोरी होला । हामीले लगानीकर्तालाई बुझाउनुपर्नेछ । तुलनात्मक रूपमा हामीले अझै धेरी दिन सकिथ्यो कि । दिन नसकेको पो हो नि यतातिर पनि सोच्नुपर्ने छ । तर जति प्रतिफल दिइरहेका छौं त्यो नराम्रो पनि होइन ।

१ अर्बको फण्डमा संस्थागत बाहेकलाई राखेर हेर्दा सर्वसाधारणको आवेदन कति पर्ला ?

३० देखि ४० प्रतिशत सर्वसाधारणबाट आउँछ भन्ने आश गरेका छौं । म्युचुअल फण्डलाई प्रवर्द्धन गर्नको लागि धितोपत्र बोर्डले पनि आरक्षणको सेयर दिएको छ । ५ प्रतिशत आरक्षणको सेयर छ ।

यसले गर्दा म्युचुअल फण्डले एक तहको प्रतिफल कायम गर्न सक्छन् । यसले पनि फाइदा छ । अहिले सेबोनको पाइपलाइन धेरै कम्पनी छन् । यसले गर्दा थप सहज हुन्छ । ४० प्रतिशत आवेदन पर्नेमा विश्वस्त छौं ।

अहिले सर्वसाधारण धितोपत्र दोस्रो बजारमा नै झुम्मिरहेका छन् । जोखिम हुँदा पनि आकर्षण त्यतै छ । म्युचुअल फण्डतर्फ आकर्षित हुनै सकिरहेका छैनन् नि ।

म्युचुअल फण्ड सम्बन्धी जानकारी नभएर नै हो । जोखिम नमिल्नेहरूको लागि म्युचुअल फण्ड धेरै राम्रो हो । यो बुझ्नु जरूरी छ ।


प्रतिक्रिया दिनुहोस्